काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको जंगी अड्डामा गएर नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएकी छिन्। प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला सेनाको परमाधिपति रहेकी राष्ट्रपति भण्डारी स्वयं जंगी अड्डा पुगेर ब्रिफिङ लिएकी हुन्।
राष्ट्रपतिलाई सेनाको प्रमुख विभागको जिम्मेवारी सम्हालेका रथी र अधिृकतहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराएका थिए । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यहरु बारे जानकारी दिइएको थियो।
सेनाको गतिविधि बारे जानकारी लिएपछि आज राष्ट्रपति भण्डारीले उसले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाझैं सम्पन्न गर्न निर्देशन दिएकी थिइन्।
कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय एवं सरकार सदैव सकारात्मक रहेको बताएका थिए।
कार्यक्रमको शुरुमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको सवलीकरण, सुदृढीकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्न सरकारले गरेको सहयोग तथा भूमिका महत्वपूर्ण रहेको बताएका थिए। सो कार्यक्रममा राष्ट्रपति कार्यालय तथा रक्षामन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ७ असार २०७५ १२:४९ बिहीबार