समाज

पशुपतिमा योगाभ्यास

पशुपतिमा आयोजित योग शिविरमा सहभागि हुँदै भारतीय राजदूत। तस्बिर: भारतीय दूतावासको ट्वीटरबाट

काठमाडौ– उपत्यकाका विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन भइरहेको छ।अन्तर्राष्ट्रिय योग दिवस जुन २१ को अवसर पारेर आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको हो।

समाजले बुधवार बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको योग शिविरमा भारतीय राजदूत मञ्जिवसिंह पुरीको समेत सहभागिता रहेको राष्ट्रिय योग शिक्षक संयोजक पुनम उप्रेतीले जानकारी दिए ।

योग आसनपछि साधकसँग कुरा गर्दै राजदूत सिंहले मानव सभ्यताको स्रोत वाग्मती नदीको सफाइ महाअभियानका लागि भारत सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतका आध्यात्मिक गुरु आयार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिङ नामक आध्यात्मिक अभियान शुरु भएको हो । यसले मानिसलाई भौतिक कोलाहलकाबीच आध्यात्मिक शान्तिका साथ जीवनयापन गर्ने कला सिकाउँछ ।

विश्व योग दिवस २१ जुनको अवसर पारेर आर्ट अफ लिभिङले शंखमूलस्थित वाग्मती किनारबाट जुन १६ अर्थात् असार २ गतेदेखि शुरु गरेको योगशिविर असार ३ गते भक्तपुरको टौमडी, असार ४ गते बौद्धनाथ स्तुप परिसर, असार ५ गते पाटन कृष्ण मन्दिर र गोकर्णेश्वर महादेव मन्दिरमा सम्पन्न भएको थियो।

दिवसका अवसमरमा असार ७ गते बिहीबार २१ जुनका दिन आर्ट अफ लिभिङले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र शंखमूल पार्कमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ। रासस

प्रकाशित: ६ असार २०७५ ०९:०५ बुधबार

पशुपतिमा योगाभ्यास