समाज

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं - पित्तथैलीको क्यान्सरका कारण सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ मंगलबार अन्त्येष्टि गरिएको छ। डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा तथा छोरीहरू मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएसँगै विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो।

सोमबार मन्त्रिपरिषद् बैठकले देवकोटाको राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार अन्त्येष्टिपूर्व स्वर्गीय डा. देवकोटाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पताल परिसरमा राखिएको थियो । देवकोटाको इच्छाअनुसार नै परिवारले अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राख्दा नेपाली पोसाक दौरा सुरुवाल र ढाका टोपी लगाइदिएका थिए।

अन्तिम श्रद्धाञ्जली र शव यात्रामा विशिष्ट व्यक्तिदेखि ठूलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी, सर्वसाधारण सहभागी भएका थिए । गोरखाको ग्रामीण क्षेत्रमा जन्मिएर चिकित्सा विज्ञानको सबैभन्दा जटिल मानिने न्युरो सर्जरी विधामा उच्च दक्षता हासिल गर्नुका साथै उल्लेखनीय योगदान पु¥याएका डा. देवकोटालाई हजारौं शुभेच्छुक र आफन्तले आँसुको भेल बगाएर बिदाइ गरे।

देवकोटाका शवमा माल्यार्पण गरेपछि आगन्तुकले शवनजिकै बसेका श्रीमती र तीन छोरीसहित अन्य आफन्तप्रति समवेदना प्रकट गरेका थिए। श्रीमती र छोरीहरू घरि मुख छोपेर रुन्थे, घरि आँसु लुकाएर सम्हालिन्थे। वरिपरि नै थिए, दाजुभाइ र अन्य आफन्त। बाबु गुमाएका छोरीहरू शवनजिकै उभिएर अनुहारमा पर्ने अबिर र फूलका टुक्रा हटाइरहेका थिए। यो दृश्यले धेरैजना डाँको छोडेर रोएका थिए। अस्पताल परिसरमा पुगेकामध्ये अधिकतर सर्वसाधारण डा. देवकोटाले आफू वा आफन्तको ज्यान बचाएका घटना स्मरण गरिरहेका भेटिन्थे।

अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, प्रदेश–३ की प्रमुख अनुराधा कोइराला, प्रधान सेनापति राजेन्द्र क्षत्री, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नयाँ शक्ति नेपालमा संयोजक डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, कम्युनिस्ट पार्टीका नेताहरू विष्णु पौडेल, वामदेव गौतम, सुवास नेम्वाङ, अग्नि खरेल, पम्फा भुसाल लगायतका नेता पुगेका थिए।

यसअघि सोमबारै प्रधानमन्त्री केपी शर्मा ओलीले न्युरो अस्पताल पुगी डा. देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि डा. देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले अस्पताल पुगेर डा. देवकोटाकी धर्मपत्नी एवं छोरीहरूलाई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिएका थिए।

राष्ट्रपति भण्डारीले डा. देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै दुःख प्रकट गरेकी छन्। सोमबारै विभिन्न मन्त्रीसमेत अस्पताल पुगेर डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।

नेपाली कांग्रेसले डा. देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उहाँको निधनले पार्टी परिवारलाई अत्यन्तै दुःखी तुल्याएको जनाएको छ। डा. देवकोटाको निधनबाट चिकित्सा जगत्मा दक्षिण एसियाकै लागि अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ। हेटौंडामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले डा. देवकोटाको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. बिडी चटौतले डा. देवकोटा कामप्रति अत्यन्तै लगाव राख्ने चिकित्सक भएको बताए। ‘कामप्रति समर्पण र अब्बल क्षमता भएको हुनुहुन्थ्यो’, डा. चटौतले भने, ‘नेपालको न्युरो सर्जरी सेवा जहाँ छ, त्यो उहाँकै कारणले छ।’

३७ वर्ष चिकित्सा सेवामा बिताएका डा. देवकोटाले करिब ३४ हजार जनाको शल्यक्रिया गरे। यस्तै ७ लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेका उनले हजारौंलाई नयाँ जीवन दिएका छन्। आफै भने सबैभन्दा खतरनाक मानिने पित्तथैलीको क्यान्सरसँग पराजित भए।

प्रकाशित: ५ असार २०७५ १०:५५ मंगलबार

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि