समाज

दश घर एक पोखरी अभियान संचालन

सन्धिखर्कको सिमलपाटामा निर्माण गरिएको पोखरी।  तस्बिरः अर्जुन/नागरिक

अर्घाखाँची – अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो। जिल्लाका दुई युवाहरूको अग्रसरतामा अभियानले तीव्रता लिएको छ।

पोखरी निर्माणले पानी सिंचीत भई मुलहरू सुक्ने समस्या हल हुने अभियान्त कृष्णप्रसाद भुसाल बताउँछन्। ‘पोखरीमा पानी जम्मा गरि राख्नाले मुलहरू सुक्नबाट जोगिने विश्वासका साथ अभियान संचालन गरेका हौं’ उनले भने, ‘अभियानलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोगको खाँचो छ।’ उनले अभियानले सफलता पाउनेमा आफूहरू आशावादी रहेको बताए। ‘अभियान संचालनमा आएपछि सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पाएका छौं’ उनले भने, ‘सहयोग पनि मिलेको छ।’ पोखरी निर्माणका लागि स्थानीय समाजसेवीले आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

अभियान्ताहरूले पोखरी निर्माणका लागि संयोजनको काम गर्दै आएका छन्। ‘जहाँ पोखरी निर्माण गर्छौं, सम्बन्धित ठाउँकै व्यक्तिबाट आर्थिक सहयोग मिलेको छ’ उनले भने,  ‘धेरै व्यक्तिहरू सहयोग गर्न तयारी अवस्थामा हुनुहुन्छ।’

जिल्लामा पाँच सय पोखरी निर्माण गर्ने लक्ष्य राखिएको अर्का अभियान्त हरि प्रसाद भुसालले बताए। ‘यो अभियानलाई राष्ट्रव्यापी रुपमा सञ्चालन गर्नुपर्छ’ उनले भने, ‘यस्ले प्रकृतिलाई सन्तुलन कायम राख्न निकै ठूलो मद्दत गर्छ भन्ने लागेको छ।’ उनले अभियान सञ्चालन भएदेखि हालसम्म २४ ओटा पोखरीहरू निर्माण गरिएको बताए। पोखरी निर्माणका लागि हाल सम्म करिब डेढ लाख रुपैयाँ खर्च भइसकेको छ। जिल्लाको अर्घा धरम्पानी, पकले आँपखोला, डिभर्ना, ढिकुरा लगायतका स्थानमा पोखरीहरू निर्माण गरिएको छ। 

अधिकांश ठाउँहरुमा मुलहरू सुक्दै गएका कारण खानेपानीको चरम अभाव हुन थालेको छ। जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेर खानेपानीको दीर्घकालिन समाधान खोज्ने विषयमा पनि वहस हुन थालेको छ। ‘पोखरी निर्माण अभियानले सुख्खा ग्रष्त अवस्था कम गर्न पनि सहयोग मिल्ने देखिन्छ’ पोखरी निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका डिभर्नाका पिताम्वर सेजवाल भन्छन, ‘ठाउँ–ठाउँमा निर्माण गरिएका पोखरीहरूको संरक्षणमा स्थानीयले ध्यान पुर्याउनु पर्छ।’ 

प्रकाशित: ४ असार २०७५ ११:२३ सोमबार

दश घर पोखरी अभियान संचालन