समाज

१९ वर्षपछि जग्गाको संरक्षण

फलामका किला र सरियाले घरेर राखिएको वैंकको जग्गा। तस्बिरः अर्जुन/नागरिक

अर्घाखाँची – राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्षपछि संरक्षण गरेको छ।  

जिल्ला वन कार्यालयसँगै जोडिएको बाटो छेउको जग्गा वैंकको हो भन्ने धेरैलाई जानकारी समेत थिएन। वैंकको ३ ओटा कित्तामा रहेको १३ आना जग्गाको केहि क्षेत्रफल बाटोले काटिदिएको छ। जग्गालाई फलामका किला र सरिया लगाएर घेरेर राखिएको छ। वैंकले आफ्नो जग्गामा वोर्ड समेत खडा गर्ने जनाएको छ। 

वैंकले आफ्नो जग्गा समयमै संरक्षण गरेर राख्नुपर्ने भएपनि वर्षौंपछि जग्गाको संरक्षण गरेको हो। वैंकका हालका शाखा प्रमुख गोपाल न्यौपानेले जग्गाको खोजनीति गरेका हुन। न्यौपानले वैंकको जग्गा बेवारिसे भएको थाहा पाउना साथ आफू संरक्षणमा लागेको बताए।

‘भाडाको घरमा बसेर काम गर्दा निकै समस्या भएको छ’ उनले भने, ‘आफ्नै जग्गामा घर बनाउन पायौं भने ठूलो राहत मिल्ने थियो।’ उनले वैंकको जग्गामा वन कार्यालयले वाल र मन्दिर निर्माण गरेको बताए। ‘वन कार्यालयले प्रयोग गरेको वैंकको जग्गा सहज ढंगले छाडिदिनुपर्छ’ उनले भने। ‘म अब भवन निर्माणको पहलमा  लाग्ने छु’ उनले थपे ‘मेरो कार्यकालमा सन्धिखर्क शाखालाई साच्चै नै उत्कृष्ट बनाउँछु।’ 

शाखा प्रमुख भएर आएको दुई महिनामै उनले वैंकको व्यवस्थापनको पक्षलाई पनि धेरै सुधारेका छन्। अहिले वाणिज्य वैंकमा सेवाग्राहीले छिटो सेवा पाउन थालेका छन्। 

प्रकाशित: ४ असार २०७५ १०:३४ सोमबार

१९ वर्षपछि जग्गाको संरक्षण