समाज

‘समृद्घिका लागि परम्परागत प्रविधि अपरिहार्य’

काठमाडौं – ‘मैले यतिका वर्ष विश्वविद्यालय पढाएँ, नेपालका मौलिक तथा परम्परागत प्रविधिबारे आफैंलाई जानकारी रहेनछ। केवल पश्चिमाले थोपरिदिएका कुरालाई पो ज्ञान भन्दै विद्यार्थीलाई बाँडेछु,’ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सेमिनार हलमा प्रवचन सुरु गर्नुअघि निजात्मक अनुभव सुनाए।

अग्रपंक्तिमा बसेका नास्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेललगायत सहभागी अभिरुचिसाथ कोइरालालाई सुनिरहेका थिए। ‘कतिपयलाई अनौठो लाग्न सक्छ, तर, सत्य स्वीकार गर्नैपर्छ, आधुनिक विज्ञानको जग ‘वेद’ रहेछ, अनि वेद विज्ञानभन्दा एक कदम अगाडि रहेको तथ्यले पुष्टि गरेका छन्,’ कोइरालाले भने। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित राष्ट्रिय युवा परिषद्ले खुमलटारमा आयोजना गरेको पहिलो विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय सम्मेलनमा ‘परम्परागत प्रविधि र प्रयोग’ विषयक छलफल सत्रमा उनी आफ्ना विचार व्यक्त गरिरहेका थिए।

हाम्रा वैदिक परम्परा र संस्कृतिभित्र ज्ञानविज्ञानको भण्डार रहेकाले त्यसको प्रवद्र्घनमा सरकार लाग्नुपर्ने उनको जिकिर थियो। ‘चन्द्रमाले अनन्त ब्रह्माण्ड (सूर्य) बाट प्रकाश पाउँछ भन्ने यजुर्वेदमा उल्लेख छ। सूर्योदय र सूर्यास्तको प्रसंग सामवेद तथा सूर्यको किरणमा सात रंग हुन्छ भन्ने अथर्ववेदमा छ,’ कोइरालाले वैदिक रहस्य खोतल्दै भने, ‘मिसाइल, जहाज, अन्तरिक्षयान, टेलिग्राफ र सैनिक हतियार बनाउने प्रविधिको जग ऋग्वेदसँग जोडिएको छ।’

वेद, वैदिक साहित्य, त्रिपिटक, धम्मपद (बौद्घ), कुरान (मुस्लिम), मुन्धुम (किराँत) आदिमा रहेका विज्ञान, प्रविधि, गणित, खगोल, ज्योतिष र अन्य विधाबारे युवा पुस्ताले खोजी गर्नुपर्ने कोइरालाले सुझाव दिए। ‘पूर्वीय दर्शन र आधुनिक विज्ञानबारे तुलनात्मक अध्ययन हुनु आवश्यक छ। पूर्वीय दर्शनमा रहेका वैज्ञानिक पक्ष पाठ्यक्रममा समावेश गरिनुपर्छ,’ कोइरालाले थपे, ‘केवल सिकाइ मात्र होइन, आयआर्जनका लागि समेत पूर्वीय विज्ञानले कसरी सघाउन सक्छ भन्नेबारे अनुसन्धान गरिनुपर्छ। परम्परागत प्रविधिलाई बेवास्ता गरेर मुलुकको सर्वाङ्णीण विकास सक्दैन।’

उक्त सत्रमा प्रा.डा. सुबोध शर्मा, डा. लक्ष्मीप्रसाद खतिवडा, प्रा. डा. महेशकुमार अधिकारी, जयन्त आचार्य र रवीन्द्र पुरीले नेपालका रैथाने प्रविधिका विभिन्न पाटाबारे कार्यपत्र प्रस्तुत गरे। विज्ञान पत्रकार लक्ष्मण डंगोलले परम्परागत प्रविधिसम्बन्धी ‘सेसन’को संयोजन गरेका थिए। नास्टका उपकुलपति पोखरेल, नास्टका प्राज्ञ प्रा.डा. दिनेश भुजु र वैकल्पिक ऊर्जा केन्द्रका निर्देशक नवराज ढकालले कार्यपत्रहरुमाथि टिप्पणी गरेका थिए।

असार १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गरेका थिए। असार ३ गतेसम्म चलेको सम्मेलनमा विज्ञान, जैविक विज्ञान र विज्ञान, परम्परागत प्रविधि र प्रयोगहरु, खगोल तथा अन्तरिक्ष विज्ञानलगायत १२ विधागत विषयमा विज्ञहरुले प्रस्तुत गरेका कार्यपत्रमाथि छलफल गरिएको थियो। विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्था उजागर गरी आगामी दश वर्षका लागि कार्यनीति तय गर्न सम्मेलनले दिशानिर्देश गर्ने सम्मेलन आयोजक समितिका संयोजक खिम पन्थीले बताए।

प्रकाशित: ४ असार २०७५ ०२:५३ सोमबार

समृद्घिका लागि परम्परागत प्रविधि अपरिहार्य