समाज

धुलिखेल अस्पतालमा घुर्ने समस्याको उपचार

बनेपा – निद्रामा घुर्ने बानी छ? थकाई लागेर या निद्रा नपुगेकाले घुरेको हो भन्ने भ्रम छाडिदिनुस्। यो भ्रमले तपार्इंको जीवनमा अनेक जोखिमपूर्ण अवस्थाहरु निम्तिएका हुन सक्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन्।

मोटो भएकाले घुरेको भन्ने धेरैलाई लाग्न सक्छ। तर, अधिकांश घुर्नेहरुलाई थाहा नै नभई उच्च रक्तचाप, स्लिप एप्निया, हृदयाघात, मष्तिष्कघात तथा मानसिक र मनोवैज्ञानिक समस्याहरुले ग्रस्त पार्न सक्ने चिकित्सकहरुको भनाइ छ। तर, आत्तिइहाल्नुपर्ने अवस्था भने छैन, किनकी घुराईको समस्या हुने बिरामीको निद्रा (सुत्ने तरिका)को अध्ययनबाट यससँग सम्बन्धित शारीरिक अवस्थाका बारेमा जानकारी लिन सकिने प्रविधि भित्रिएको छ भने विभिन्न परीक्षणबाट आएको नतिजाअनुसारको उपचार पनि हुन थालेको छ।

धुलिखेल अस्पतालले निद्राको विविध अध्ययनका लागि नाक, कान, घाँटी (इएनटी) विभागमा सुविधा सम्पन्न स्लीप ल्याब सुरु गरेको दुई महिना पुगेको छ। यसै अवसरमा विभागले पत्रकार सम्मेलनमार्फत सेवाका बारेमा जानकारी दिएको हो। ‘काठमाडौंबाहिर पहिलो पटक पोलिसोम्नोग्राफी (निद्राको विविध अध्ययन)को सेवा धुलिखेलमा सुरु गरेका छौं। यसका लागि ४८ च्यानलको अत्याधुनिक मिनी स्क्रीन–प्रो उपकरणलाई उपयोगमा ल्याएका छौं। यसबाट निद्रासम्बन्धी धेरै अध्ययन गर्न सकिन्छ,’ इएनटी शल्य चिकित्सक एवं एसोसियट प्रोफेसर डा. मोनिका पोखरेलले भनिन्। जर्मनीको काइजरस्टाउटर्नस्थित वेस्टफाल्ज क्लिनिकम अस्पतालमा स्लीप डाइग्नोष्टिक ल्याबको प्रशिक्षणप्राप्त डा. पोखरेलको अगुवाइमा स्लीप ल्याब सुरु भएको हो। अस्पतालमा दुई महिनाको अवधिमा १८ जनाको पोलिसोम्नोग्राफी जाँच भइसकेको र उपचारसमेत थालिएको छ। ‘पोलिसोम्नोग्राफीको मद्दतले निद्रामा सास रोकिने समस्या, आवधिक हातखुट्टाको चाल सम्बन्धि समस्या, अधिक निद्राको कारण, खुट्टा चलाई राख्ने सिन्ड्रोम, निद्रा नलाग्ने समस्या, रातिको समयको चालचलन जस्तै निद्रामै हिँड्ने तथा निद्राका विभिन्न चरण तथा यसका समस्या पत्ता लगाउन सकिन्छ’, पोखरेलले भनिन्।

पोलिसोम्नोग्राफी जाँचबाट घुर्ने समस्याले भविष्यमा बिरामीको स्वास्थ्यलाई निकै नै हानी पु¥याउने अवस्था छ÷छैन छुट्ट्याएर सोहीअनुसार उपचारको विधि यकिन गरिने उनको भनाइ छ। ‘घुर्नुको एउटा कारण स्लिप एप्निया पनि हो। यसमा मानिस निदाएको समयमा स्वासप्रस्वास प्रक्रिया आफसेआफ १० देखी ४० सेकेण्डसम्म रोकिएर निसास्सिने हुन्छ। स्लिप एप्निया आफैंमा अनेकौं रोगको कारक हो। घुर्ने समस्याले गर्दा स्वास नलीहरु बन्द हुन गई यो अवस्थामा आएको खण्डमा बिरामीलाई ‘अब्स्ट्रक्टीभ स्लिप एप्निया’ हुनसक्छ । यी सबै कुरा पनि परीक्षणबाटै पत्ता लाग्छ’, पोखरेलले थपिन्।

डा. पोखरेलका अनुसार स्लिप ल्याबमा रहेको बिरामीलाई एक सिफ्ट (७ घण्टा) मा निगरानीको क्रममा ३० पल्टभन्दा धेरै पटक श्वास रोकिएको पाइएमा यसलाई अत्यन्त जोखिमयुक्त मानिन्छ। तसर्थ निद्राको बीचमै पटक–पटक स्वास रोकिने गरेको आफैंले थाहा पाएर वा आफूसँगै सुतेको व्यक्तिको भनाईअनुसार स्लिप ल्याबमा सम्पर्क राख्न बुद्धिमानी हुने उनले सुझाइन्। सबै घुर्ने बिरामीहरुलाई स्लिप ल्याब आवश्यक नपर्ने जानकारी दिँदै डा. पोखरेलले भनिन्, ‘कतिपय बिरामीलाई नाक, कान, घाँटी, तालु तथा मुखको विशेष परीक्षण गरेर पनि रोगको निदान गर्न सकिन्छ। नाकको एलर्जी, मासु पलाएको, हड्डी बांिगएको र संक्रमण, टन्सिल बढेको, स्वासनली र स्वासयन्त्रको संक्रमणजस्ता कारणले घुर्ने समस्या उत्पन्न भएको पाइएमा पोलिसोम्नोग्राफी गरी हाल्नु पर्दैन,’ उनले थपिन्।

काठमाडौंका त्रिवि शिक्षण अस्पताल, नर्भिक, मेडिसिटी, ओम र किस्ट अस्पतालमा स्लिप ल्याबको सुविधा उपलब्ध भए पनि ती अस्पतालहरुमा ५ देखि ३० च्यानलसम्मका मिनी स्क्रीन–प्रोमार्फत सेवा उपलब्ध हुँदै आएकाले सबै पारामिटरहरुमा जाँच हुन नसक्ने पोखरेलको भनाई छ। हालसम्म कार्डियोलोजिष्ट तथा पल्मोलोजिष्टहरुले पोलिसोम्नोग्राफी गर्दै आएको भए पनि इएनटी विशेषज्ञका रुपमा आफू नेपालकै पहिलो प्रशिक्षणप्राप्त पोलिसोम्नोग्राफी विज्ञ भएको पनि डा. पोखरेलले दाबी गरिन्।

‘धुलिखेल अस्पतालमा ३२ लाख रुपैंयाभन्दा बढी लगानीमा जर्मनीका अस्पतालहरुमा प्रयोग हुँदै आए जस्तै अत्याधुनिक ४८ च्यानलको मिनी स्क्रीन– प्रोे प्रयोगमा ल्याएका छौं । यसबाट परीक्षणमा क्वालिटीका साथै धेरै पारामीटरहरुमा जाँच गर्न सकिन्छ’, उनले भनिन्, ‘समुदायका लागि स्थापित अस्पताल भएकाले हाललाई प्रति बिरामीको परीक्षणबापत साढे ७ हजार रुपैंया र बेड चार्ज थप लिने गरिएको छ। दैनिक एक जना बिरामीलाई स्लिप ल्याबबाट सेवा दिन थालिएकोमा यसलाई क्रमशः थप सेवा दिँदै जाने योजना रहेको छ,’ पोखरेलले थपिन्।

प्रकाशित: ३ असार २०७५ ०१:४७ आइतबार

धुलिखेल अस्पतालमा घुर्ने समस्याको उपचार