समाज

जनउत्तरदायी बनाउन प्रहरी टोलटोलमा

गुल्मी – प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउन जिल्ला प्रहरी कार्यलय गुल्मीले प्रहरी टोलटोलमा अभियान सुुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा शुक्रबार आयोजित शान्ति, सुरक्षा, सुशासन, जनमैत्री प्रहरी, प्रशासन र प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियानको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले उद्घाटन गरे।

प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने र शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्यका साथ अभियानको सुरुआत गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। जिल्लाका सबै वडा र टोलटोलमा टोल सुधार समिति निमार्ण गर्ने र ग्रामिण भेगमा टोल सुधार समूह बनाएर स्थानीय प्रहरी, वडा प्रहरी, इलाका प्रहरी, प्रहरी पोष्ट र नागरिक मिलेर सामाजिक अपराधको न्यूनिकरण गर्ने उद्देश्यका साथ कार्यक्रम सुरु गरिएको उनले बताए। जिल्लाको शान्ति सुरक्षालाई ब्यवस्थित बनाउनुका साथै आपराधिक गतिविधिहरू नियन्त्रण गर्नका लागी यो कार्यक्रमको खाँचो महशुस भएको उनकाे भनार्इ छ।

कार्यक्रमका बाेल्दै जिल्ला प्रहरी प्रमुख अनुराग सुवेदीले समाजलाई सुरक्षित र भयरहित तथा शान्तिपूर्ण बनाई राख्नु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए। दूर दृष्टी, भयरहित, सुरक्षित र शान्तिपूर्ण समाजको स्थापना गर्ने रणनीति सामुदायिक प्रहरी सेवाको प्रभावकारी कार्यान्वयनको माध्यमबाट अपराध रोकथाम गर्ने रहेको उनले बताए। ‘प्रहरी र समुदाय बीचको समन्वय र सहकार्य गदै प्रत्यक्ष जनताको घरदैलोमा पुगेर प्रभावकारी प्रहरी सेवा प्रदान गर्नु नै कार्यक्रमको उद्देश्य हो’ उनले भने। ‘अपराधिक घटनापछिको समाधान मात्रै प्रहरीको दायीत्व होइन’, उनले भने, ‘घटना घट्न नदिनु झनै प्रमुख दायित्व हो।’

रेसुङ्गा नगरपालिका-८ का वडा अध्यक्ष भरत भलामीले जनताको सहयोग बिना प्रहरी एक्लैले समग्र शान्ति सुरक्षा कायम गर्न नसक्ने बताए। उनले यस्ता कार्यक्रमले नागरिक र प्रहरीको सम्बन्ध थप सुमधुर हुने बताए।

रेसुङ्गा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले समाज र राष्ट्रियता बलियो बनाउन सामुदायिक प्रहरीको अवधारणालाई थप परिमार्जन गर्न अभियान ल्याइएको बताए।

प्रकाशित: १ असार २०७५ ०७:१७ शुक्रबार

जनउत्तरदायी बनाउन प्रहरी टोलटोलमा