समाज

ताप्लेजुुङका कच्ची सडकमा यातायात अवरुद्ध, कयौं घर बाढी पहिराेकाे जोखिममा

विश्वकप हेरेर फर्कने क्रममा सवार रहेकै अवस्थामा खोलाको बगाएको मोटरसाईलकलाई निकाल्दै प्रहरी र स्थानीय । सवार सनम राई अझै बेपत्ता छन् । तस्बिर ; नागरिक

ताप्लेजुङ – गएराती परेको वर्षाले ताप्लेजुङका आधा दर्जन बढी ग्रामीण बस्ती छिर्ने कच्ची सडकमा यातायात अवरुद्ध भएको छ ।

सडकमा पहिरो गएपछि यातायात अवरुद्ध भएको र अवरोध पन्छाउने तथा घटनाको वस्तुस्थिति बुझ्ने क्रममा सबै भागमा प्रहरी परिचालन गरिरएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले विभिन्न ६ स्थानमा पहिरो गएर ढिस्को पल्टिएको र यातायात अवरुद्ध भएकोले अवरोध हटाउने क्रम पनि सुरु भएको जानकारी दिए ।

उनका अनुसार  फुङलिङ नगरपालिका वडा नम्बर ३ केनिमस्थित ताप्लेजुङ–दोभान सडक खण्डमा माटोको लेदो झरी बाटो अवरुद्ध भएको  छ । यस्तै फुनपा वडा नम्बर ५ उकालीपानीस्थित ताप्लेजुङ–सुकेटार सडक खण्डमा १० मिटर माथिबाट गएको पहिरोले यो सडक खण्ड अवरुद्ध भएको छ । अवरोध हटाउन प्रहरी टोली परिचालित गरिएको उनले बताए ।

यस्तै पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुबाट बिर्तामोडतर्फ जाने बाटो समेत पहिरोले अवरोध गरेकोले त्यहाँ पनि यातायात अवरुद्ध भएको छ । यस्तै फुरुम्बु–तापेथोक खण्डमा गोल्छे खोलाले बाटो बगाएकोले त्यहाँपनि सडक अबरुद्ध रहेको प्रहरील जानकारी दिएको छ ।

फुनपा–७ बहानन्देस्थित सदरमुकाम–दोभान सडक खण्ड पनि अवरुद्ध भएको प्रनाउ बस्नेतले जानकारी दिए । मानवीय प्रयासले अवरोध हटाउन सम्भव भएका स्थानमा स्थानीय समुदायसँग मिलेर अवरोध हटाउने कार्य जारी रहेको बाँकी स्थानमा अवरोध हटाउन प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर बस्नेतले जानकारी दिए ।

विश्वकप हेर्न हाङदेवाबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङ तर्फ आउँदा हाङ्देवा खोलाले बगाएर बेपत्ता भएका सनम राईको खोजी कार्य जारी रहेको छ । बिहानैबाट खोजी कार्य जारी रहेपनि पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ । खोजीका क्रममा उनी सवार मोटरसाईकल भने फेला परेको प्रानउ बस्नेतले जानकारी दिए ।

जनता मावि हाङ्देवा नजिक फुटबल हेरी सदरमुकाम तर्फ फर्कने क्रममा फुनपा ५ मा रहेको पाथीभरा वर्कसपमा कार्यरत २६ वर्षिया सुमन राई खोलाले बगाएर बेपत्ता छन् । उनीसँगै बाईकमा सवार खड्ग बिक भने सकुशल छन् । खोला तर्ने क्रममा सुमन बाईकसँगै बगेको र खड्ग भने मोटरसाईकलबाट उत्रिएको प्रहरीको भनाई छ । घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच देवीखोलामा बढेकोे पानीले फुनपा बुङ्कुलुङमा ३०–४० घर जोखिममा रहेको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थल तर्फ  गएको समेत प्रनाउ बस्नेतले जानकारी दिए ।

प्रकाशित: १ असार २०७५ ०४:०२ शुक्रबार

ताप्लेजुुङका कच्ची सडकमा यातायात अवरुद्ध कयौं घर बाढी पहिराेकाे जोखिममा