समाज

कारवाहीको त्रासले धमाधम काम गर्दै ठेकेदार

भैरहवा– रुपन्देहीमा सञ्चालित विभिन्न आयोजनामध्ये १७ आयोजनामा ठेकेदारको लापरबाही देखिएको छ। आयोजनाहरूमा ठेकेदारको  ढिलासुस्ती र लापरबाही पाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए। बाटो, पुल, सिँचाइ, खानेपानीजस्ता आयोजनामा ठेकेदारको लापरबाही बढी देखिएको छ। बोखीम शान्ति जेभि र मैनाचुली बोखीम जेभीले यहाँका दुईवटा खोलामा पुल निर्माणको ठेक्का लिएर अलपत्र छाडेका छन्। बोखिमको म्याद ६ महिना अघिनै सकिएकाले कारबाहीको तयारी भइरहेको डिभिजन सडक बुटवलका डिइ कैलाशकुमार श्रेष्ठले बताए। भैरहवा–लुम्बिनी सडकमा निर्माणाधीन दुईवटा पुलको म्याद यही असारमा सकिँदैछ। ती पुलको ठेक्का पप्पु एण्ड बाम्ती कन्स्ट्रक्सनको हो। हालसम्मको प्रगति ३० प्रतिशत छ। 

गृहमन्त्रालयले लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्ने भनेसँगै निर्माण कम्पनीले केही कामदारलाई खटाएर काम भइरहेको देखाउन खोजिरहेका छन्।

जिल्लाका १६ वटा सिँचाई आयोजनामध्ये १० वटा आयोजनामा ठेकेदारको लापरबाही छ। बगाहाबाँध सिँचाइ आयोजनाको म्याद गुज्रेको दुई वर्ष भयो। एडभेन्चर दि आनन्द लाली गुराँस जेभी भक्तपुरले ८० प्रतिशत काम गरेर अयोजना अलपत्र छाडेको छ। बगाहा बाँधकै क्यानल लाइनिङको म्याद सकिएको एक वर्ष भयो। यो आयोजना एसियाटिक ट्रष्टी चण्डी जेभी मर्जादपुरले ठेक्का लिएको हो। 

बेलहिया–बुटवल ६ लेन सडकको अंचलपुर–बुद्धचोक र डण्डा पुलको करिब ३ किलोमिटर बाटो भत्काइएको तीन वर्ष भयो।  यो खण्डमा कालिका, तामाङ प्यासिफिक जेभीले ठेक्का लिएको हो। विभिन्न कारणले काममा अवरोध भएबापत्को समय थप गर्दा पनि निर्माण नसक्ने ठेकेदारलाई आयोजनाले गत महिना ९४ लाख ७९ हजार हर्जना तिराइएको आयोजना प्रमुख जीवेन्द्र मिश्रले बताए। आयोजनाले भैरहवाको बुद्ध चोकमा बुद्ध मूर्ति निर्माणको ठेक्का लिएको अलकापुरी निर्माण सेवालाई पनि करिब ६० हजार हर्जना तिराएको छ। जरिवाना तिरेका कम्पनीले अहिले पनि कामलाई तीव्रता दिएका छैनन्। गृहमन्त्रालयले लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्ने भनेसँगै निर्माण कम्पनीले केही कामदारलाई खटाएर काम भइरहेको देखाउन खोजिरहेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७५ १२:०५ बिहीबार

कारवाहीको त्रासले धमाधम काम गर्दै ठेकेदार