समाज

पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

अछाम – बुधबारको नागरिक न्युजमा छाउगोठमा किशारीको मृत्यु, चार दिनपछि प्रहरी घटना स्थलमा भन्ने समाचार प्रकाशन भएपछि अछाम प्रहरीले मृत्यु भएकी किशोरीको शवलाई उत्खनन् गर्ने भएको छ। अछामको तुर्माखाँदगाउँपालिका–४ जयागाउँकी पार्वती बुढाको शवलाई प्रहरीले उत्खनन् गरी पोष्टमार्टम गर्ने भएको हो।

छाउगोठमा सुतिरहेका बेला जेठ २६ गते शनिबार राति सर्पको डसाइबाट १८ वर्षीया पार्वतीको मृत्यु भएको थियो। घटना शनिबार राति नै भएपनि जिल्लाप्रहरी कार्यालय अछामको टोली भने मंगलबार मात्रै घटनास्थल पुगेको थियो।

प्रहरीले मंगलबार घटनास्थलमा पुगि जाँचबुझ गर्नुका साथै भत्काइएको छाउ गोठको फोटो खिचेको थियो भने घटनाको मुचुल्का तयार पारेर फर्किएको थियो।

पोष्टमार्टम नै नगरी शव गाडिएकाले पोष्टमार्टमका लगि उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी कार्यालय अछामका इन्सपेक्टर मोहनसिंह साउदले  बताए। शव उत्खनन्का लागि प्रहरीको टोली पुगि सकेको र शव उत्खनन् गरेर जिल्ला अस्पताल अछाम ल्याइने उनले जानकारी दिए।

सदरमुकाम मंगलसेनबाट घटनास्थल टाढा रहेकाले शव सदरमुकाम ल्याउन समय लाग्ने उनले बताए।

प्रकाशित: ३० जेष्ठ २०७५ ०७:२३ बुधबार

पार्वतीको शव उत्खनन् गर्दै प्रहरी