समाज

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सिन्धुली – अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ। सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो।

गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो। फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि अहिले दिउँसोबाट पूर्णरुपमा सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।

सडकमा लेदो थुप्रिँदा राजधानी हिँडेका सवारी साधन र राजधानीबाट ओखलढुङ्गा, खोटाङलगायतका जिल्लातर्फ गुडेका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका छन्।

गएराति जिल्लाको धेरैजसो भूभागमा अविरल वर्षा भए पनि लोकमार्ग अवरुद्धबाहेक अन्य क्षति नभएको जानकारी दिँदै उनले वर्षात्को समय भएकाले खोला तथा नदी आसपासका वासिन्दालाई सचेतपूर्वक बस्न र कुनै जोखिम भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरे।  (रासस)

प्रकाशित: २९ जेष्ठ २०७५ ११:११ मंगलबार

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन