समाज

उपत्यकाबाट ३०७ ‘चोर’ पक्राउ

काठमाडौं- महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ। 

महाशाखाले यही जेठ १३ देखि साेमबारसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए। काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ। “उपत्यकाको चोरी नियन्त्रण गर्न बिहान १० देखि साँझ ६ बजेसम्म सादा पोशाकमा प्रहरी खटाई उक्त अभियान सञ्चालन गरेका हौँ”, उनले भने। 

सो अवस्थामा प्रहरीले १९ जनाबाट रु २९ हजार ७००, फलामको रड र साइकल दुई दुई थान, मोटरसाइकल र स्कुटर एक एक थान, ३०९ ग्राम चरेश, २१२ थान नुर्फिन, २१२ थान फेनार्गन, २८० थान नाइट्रेपाम, ५०० दरका भारतीय रुपैयाँ दुई हजार थान बरामद गरेको छ। पक्राउ परेकामध्ये ५३ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाइएको र बाँकी २५४ जनालाई अनुसन्धानपछि छाडिएको महाशाखाले जनाएको छ। 

प्रकाशित: २८ जेष्ठ २०७५ १५:५६ सोमबार

उपत्यकाबाट ३०७ चोर पक्राउ