समाज

म्याद गुज्रेको ७ महिनापछि पुलको पिलर ठड्याइँदै

लामो समय अलपत्र परेको साप्सु खोला पुलको पिलर ढलान गरिँदै। तस्बिर : नागरिक

खोटाङ – म्याद नाघेको ७ महिनापछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको पिलर उठाउने काम थालिएको छ। १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैसाखमा जिम्मा लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको बल्ल एकतर्फको पिलर उठाउने काम थालिएको हो।

अलपत्र रहेको लामो समयपछि जेठ २ गते यता पुलको लफ्याङतर्फको पिलरको दुई लेयर ढलान गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि बिराज आचार्यले बताए। पुलका लागि जग ढलान गरेपछि ठेकेदारले काम ठप्प बनाएको थियो।

नेपाल सरकार स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभागको २ करोड, ३० लाख, ३६ हजारको लागतमा पूरा गर्नेगरी ठेक्का लागेको पुलको म्याद २०७४ साल कार्तिकमै सकिएको जिल्ला प्राबिधिक कार्यालयले जनाएको छ। ठूलो खाल्डोभित्र पिलरको जगको ढलान गरेपछि लामो समयसम्म अवरुद्ध रहेको पुलको कामलाई ठेकेदारले पुःन सुचारु गराएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए।

पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले कामचोर ठेकेदारको सूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम पनि समावेश गरेर गृहमन्त्रालय पठाएको छ। काम चोर निर्माण कम्पनीकारुको नाम गृहमन्त्रालयमा सिफारिस भएपछि ठेकेदारलाई काम गर्न बाध्यत्मक परिस्थिति सिर्जना भएको बताइएको छ।

२०७३ मंसिर २२ गते तत्कालिन सांसद (हाल प्रतिनिधिसभा सदस्य) बिशाल भट्टराईले पुल शिलान्यास गरेका थिए। पुल शिलान्यासकाक्रममा पेटी ठेकेदार श्याम पोखरेलले ७ महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए। तर, म्याद गुज्रिदा समेत पुल निर्माणको काम सन्तोषजनक हुन नसकेको भन्दै ठेकेदारको आलोचना हुने गरेको छ। पुल निर्माणको काम अलपत्र पारेको भन्दै सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको विरोध हुने गरेको छ।

तत्कालिन जिबिस र प्राबिधिक कार्यालयले खबरदारी नगर्दा समेत ठेकेदारले पुल निर्माणको काममा ढिलाई गरेको गाउँपालिका प्रमुख खड्काले बताए।

पुल नहुँदा सडक उपयोग बिहिन
खोटाङको संबृद्धिसँग जोडिएको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङबजार सडक उपयोगमा कठिनाई भइरहेको छ। बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (-याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोग बिहिन बनेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने सो पुल जिल्लाको गौरबको योजना हो।

बाटोमा पर्ने साप्सु खोलामा पक्की पुल नहुँदा साकेला गाउँपालिकामा बैंक स्थापना गर्न कठिनाई भएको छ। स्थानीय तह कार्यान्वयनसँगै साकेला गाउँपालिकामा एसबीआई बैंकको शाखा कार्यालय स्थापना गर्ने भनिए पनि पुल अभावमा शाखा कार्यालय स्थापनामा बैंक पछि हटेको गाउँपालिका प्रमुख खड्काले बताए।

प्रकाशित: २८ जेष्ठ २०७५ ०६:४० सोमबार

म्याद गुज्रेको महिनापछि पुलको पिलर ठड्याइँदै