समाज

बस्ति उठाउँन तराईका नागरिक सक्रिय

तराईका कामदारहरू नुवाकोटको समुन्द्रटारमा घर बनाउने काममा संलग्न हुँदै।    तस्बिरः भगवती/नागरिक

नुवाकोट – दिनेश अधिकारीको शब्दमा स्वरुपराज आचार्यले आवाज दिएको राष्ट्र भावले ओतप्रोत भएको ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आधी आए पहाडले छेक्नुपर्छ’ भन्ने गीतलाई सार्थक बनाउन तीन वर्षअघि गएको विनासकारी भूकम्पले थप सहयोग गरेको छ।  भूकम्पले क्षतविक्षत बनाएको पहाड र हिमालका बस्तिहरू उठाउन तराईका बासिन्दाहरू पसिना बगाइरहेको भेटिन्छन्। 

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुन्द्राटारमा पर्साका सुरेश मिया घर बनाउने काममा व्यस्त छन्। उनले घर बनाउने काम गर्न थालेकोे २० वर्ष  भन्दा बढी भयो तर नुवाकोट भने भूकम्प गएपछि मात्र आएका हुन्। “चिनजानकै एक जना दाईको घर बनाउन आएको। गाउँका अरुले पनि बनाइदिन आग्रह गरे। यहाँ काम गर्ने मान्छे रहेनछ त्यसैले हामीलाई आग्रह गरिरहेका छन् भन्ने लाग्यो,” उनी भन्छन्, “यहाँको समस्या पनि त हामीले बुझ्नु पर्छ। तराईलाई समस्या पर्दा पहाडले पहाडलाई समस्या पर्दा तराईले साथ दिनु पर्छ। यो सहकार्यले हामीलाई नेपाली भन्ने पहिचान दिन्छ।”

को धनी को गरिव तीन वर्ष अघिको समयमा सबैको विच्छौँना धर्ती र ओढ्ने खुल्ला आकास बनाइदियो। महलमा हुनेलाई पनि सडकमा ल्याइदियो। एउटै चुलोमा पाकेको खानाले धेरैको पेट भरियो। सहकार्यले गर्दा ती कालो दिनहरू छायाँमा पर्दै गए। दैनिकी सहज हुँदै गयो, घर बनाउने पक्रिया सुरु हुन पनि थाल्यो तर काम गर्ने मान्छे छैन। गाउँगाउँका युवाहरू रोजगारी र पढाईको लागि जिल्ला बाहिर छन्। देश बाहिर छन्। काम सानो ठूलो हुँदैन।

भूकम्प जादा भारतको एक कुनामा पसिना बगाइरहेका थिए पर्साकै हसन अन्सारी। देशमा भूकम्प गएको खबर सञ्चार माध्यमबाट थाहा पाउदा उनको मन अमिलो भएको थियो। देशले पीडा भोग्दा अर्काको मुलुकमा बस्ने इच्छा नभएर गाउँ फर्किएका हुन् उनी। “विबनासकारी भूकम्पले हामी नेपालीमा ठूलो चोट पुर्याएको छ। विशेष गरी हिमाली र पहाडी भूभागमा।  अरु त गर्न नसकिए पनि हातमा भएको सिप मार्फत लागेको चोटमा मलम लागने प्रयासमा छौँ,” अन्सारी भन्छन्, “तराईको भन्दा यहाँको हावापानी ठिक छ काम गर्नको लागि। यहाँका स्थानीयको साथ र हौसलाले काम गर्न पनि धेरै सजिलो छ।”

सुरुवाती चरणमा स्थानीय र घर बनाउने कामदारहरू बीचमा भाषामा समस्या आउदा टाउको हल्लाएर कुरा गरेको अनुभव पनि छ उनीहरूसँग। नियमित रुपमा उनीहरूले एउटैको घर भने बनाउन पाएका छैनन्। निर्माण सामाग्रीको अभाव हुँदा घर बनाउने काम ढिला हुँदै गइरहेको उनीहरू बताउछन्।  “हाम्रो तराई तिर ढुङ्गा माटोको घर बनाउँदैन त्यसैले होला आउदैन पनि। एउटा घरलाई चाहिने जति निर्माण सामाग्री जुटाउन पनि गाह्रो छ। पाइदैन भन्छन्। जस्को घरमा सामान छ उसैकोमा गएर घर बनाइरहेका छौँ,” शुरेस मिया भन्छन्, “पच्चिस जनाको समूह छ। हामी तीन चार घरमा बाडिएर काम गरिरहेका छौँ।”

आफ्नो ठाउँकोले भन्दा बाहिरी जिल्लाका कामदारहरूले घर बनाउदा सजिलो महसुस गरेको भूकम्प प्रभावितहरूले बताउँछन्। भर्खरै घर बनाउन थालेका छन् दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ रामतीका लक्ष्मी थापाको। घर बनाउन तराईका कामदारलाई नै ठेक्का दिएका छन्। उनको अनुसार १२ जनाले ३ वटा घरमा बाडिएर काम गरिरहेका छन्। दाङ, सल्यान, जाजरकोट तिरका कामदारले घर बनाइरहेका छन्। “गाउँकै कामदारलाई काम लगाउँदा कहिले आउने र गर्दिने भनेर पर्खिरहनुपर्छ। थोरै कामदार भएर। सबैले खोजिरहेका हुन्छन्,” थापा भन्छिन्, “बाहिरी जिल्लाका मान्छेहरू सिमित हुन्छन् र काम गर्ने ठाउँहरू पनि सिमित नै हुन्छ। नियमित रुपमा उनीहरू आइराख्छन्। आफूले सामान जुटाउन सकियो भने त छिट्टै घर बनाउछन्। कुनै चिन्ता लिनु पर्दैन।” खाजापानीमा पनि सहज हुने उनी बताउछिन्। 

त्यहिकै तुलसा पण्डितको घर पनि जाजरकोटका कामदारहरुले घर बनाइदिएका हुन्। गाउँमा भएका कर्मीहरूलाई भ्याइनभ्याइ छ।  उनीहरूकै पखाईमा बस्ने हो भने कहिलेकहिले घर बन्ने भनेर बाहिरी जिल्लाका कर्मीहरूलाई घर बनाउन ठेक्का दिएको उनी बताउछिन्। 

प्रकाशित: २७ जेष्ठ २०७५ १०:१० आइतबार

बस्ति उठाउँन तराईका नागरिक सक्रिय