समाज

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु

अर्घाखाँची –  के तपाई मोबाइल चार्जमा लगाएर कुराकानी गर्ने गर्नु भएको छ ? यदि यसो गर्नुहुन्छ भने भने अबदेखि यो बानी हटाउनुहोस्। मोबाइलमा कुराकानी गरिरहेको बेला चट्याङ परे ज्यानै जान सक्छ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ९ गोखुङ्गा सल्लेका १८ वर्षिय विकास थापाको शनिबार राति परेको चट्याङले ज्यान लिएको छ। उनले मोबाइल चार्जमा राखेर कुराकानी गरिहेको अबस्थामा चट्याङले  लागेर मृत्यु भएको हो। रातीको करिब सवा दश बजेको समयमा परेको चट्याङले उनको ज्यान लिएको हो। ‘मोबाइल चार्जमा राखेर दाइले फोनमा कुराकानी गरिरहनु भएको थियो’ सँगै रहेका भाई (सानी आमाका छोरा ) नविन हौजालीले भने, ‘कुराकानी गर्दा गर्दै दाई बेहोस भएर ढलेपछि मैले ठूलीआमालाई खबर गरे।’ 

राती नै परिवारले उनलाई जिल्ला अस्पताल ल्याएकोे थियो। तर उनी जिवित थिएनन्। उनको घटना स्थलमै मृत्यु भएको थियो। विकासले गाउँमै रहेको सुर्य माविबाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए।  छोराको मृत्युले आमा जाली थापा भावविहल बनेकी छिन्। दुई छोरा मध्येका कान्छो छोराको अप्रत्यासित ढंगले निधन भएपछि उनलाई गहिरो चोट परेको छ। उनका श्रीमान  लिलबहादुर थापाको पनि निधन भइसकेको  छ।  जेठा छोरा इन्डिन आर्मीमा छन्। ‘निकै लगनशिल र अनुशासित व्यक्ति गुमाउनु पर्यो’ स्थानीय पदम क्षेत्रीले भने, ‘समाजले केही आशा गरेको व्यक्ति गुमाउँदा निकै पीडा हुँदो रहेछ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप डिसीले चट्याङको जोखिमबाट जोगिने उपाय अवलम्बन गर्नुपर्ने बताउँछन्। ‘चट्याङ परेको बेला विद्युतीय सामग्रीहरू सञ्चालनमा ल्याउनु हुँदैन’ उनले भने, ‘यो बेला  सुरक्षित ढंगले घर भित्र बस्नुपर्छ।’ 

 

प्रकाशित: २७ जेष्ठ २०७५ ०६:२४ आइतबार

मोबाइलमा कुराकानी गर्दा गर्दै चट्याङ लागेर मृत्यु