समाज

संघीयताले भोकभोकै मार्ने भो

हिमा गाउँपालिका वड्की  स्वास्थ्यचौकी।    तस्बिरः डिबी/नागरिक

जुम्ला – जुम्लाको तिला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जगदिश नेपाली २ महिना देखि स्वास्थ्यकर्मीले तलब पाउन नसकेको प्रति दुख पोख्छन्।  उनका अनुसार ९ महिना देखि दुर्गम भत्ता र वर्षभरीको पोशाक भत्ता उपलब्ध हुन सकेको छैन्। 

पछिल्लो समयमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको मनोवल गिर्दैछ, उनले भने, देश संघीयतामा गइसकेपछि स्वास्थ्यकर्मीको बिचल्ली छ। सरकारले स्थानीय तहमा बजेट पठाउदा अपुग बजेट पठाएकोले जुम्लाका स्वास्थ्यकर्मीले समयमै तलब सुविधा पाउन सकेका छैनन्। संयोजक नेपालीले भने, संघीयताले स्वास्थ्यकर्मीको गास बास र कपास खोसेको अनुभूति भइरहेको छ। 

सरकारले स्वास्थ्यकर्मीलाई दरबन्दी अनुसारको तलवब नपठाउनु र भोकभोकै काममा खटाउनु मानबअधिकारको हनन भएको उनले बताए। उनले भने,धेरै दिन भोकै काम गर्ने अवस्थामा छैनौ, तत्काल तलबको व्यवस्था गर्न माग गरेका छौ, सरकारले सुनुवाई गरेको छैन। तिला गाउँपालिकामा दुर्गम भत्ता २३ लाखको बजेट चाहिनेमा चार ४ लाख रुपैयाँ दिइएको छ। पोशाकमा ३ लाख ६० हजार पठाउनु पर्नेमा डेढ लाख रुपैयाँ, महंगीमा ६ लाख रुपैयाँ पठाउनु पर्नेमा १ लाख ९२ हजार पठाएपछि स्वास्थ्यकर्मीलाई तलब सुविधा उपलब्ध गराउन समस्या भएको हो। 

उनका अनुसार स्वास्थ्यकर्मीको तलब गाउँपालिकामा सवा करोड आउनुपर्नेमा ७० लाख ९६ हजार रुपैयाँ मात्रै उपलब्ध हुँदा समस्या भएको हो। अहिले खान, बस्न, दैनिक गुजारा चलाउन निकै कठिन भइसकेको स्वास्थ्यकर्मीहरू बताउँछन्। उनले भने, केटाकेटीको पठनपाठन समेत प्रभावित भइसक्यो। जिल्लामा एक नगरपालिका र सात वटै गाउँपालिकामा यो समस्या देखिएको छ। 

एक महिना अघि कोलेनिका मार्फत थप बजेट पठाउनको लागि मन्त्रालयमा माग गरिएकोमा अहिले सम्म सुनुवाई हुन सकेको छैन्। चालू आर्थिक वर्षको हालसम्म तलब सुविधा पाइएको छैन, अर्को वर्ष पनि पाउने नपाउने ठेगान छैन्, उनीहरूले गुनासो पोखे। संघीयताले शिक्षा, पशु, कृषिका कर्मचारीलाई सबै सुविधा उपलब्ध गराइसकेको भन्दै स्वास्थ्यकर्मीलाई भोकभोकै मार्न लागेको आरोप स्वास्थ्यकर्मीको छ। 

जिल्लामा झण्डै २ सय स्वास्थ्यकर्मी छन्। जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल र क्षेत्रीय स्तरका स्वास्थ्यकर्मीलाई सबै सुविधा दिइसकेको बेला स्थानीय तहका स्वास्थ्यकर्मीलाई मारमा पारेको हो। यो महिनाको अन्तिमसम्म स्वास्थ्यकर्मीको सेवा सुविधा बारे सरकार जिम्मेवार नभए खोप सेवा, सुत्केरी सेवा, स्वास्थ्य संस्थामा हुने ईमरजेन्सी सेवा बन्द गरेर सडकमा आन्दोलनका लागि उत्रिने उनीहरूले चेतावनी दिइएका  छन्।

उनीहरूले सरकारले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको मागको सुनुवाई नगरे सबै स्वास्थ्य संस्था बन्द गरेर सदरमुकाम केन्द्रित आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उनीहरूले गरेका छन्। जुम्लाका स्वास्थ्यकर्मीले स्थानीय तहले पनि स्वास्थ्यकर्मीलाई राम्रोसित नहेरेको प्रतिक्रिया दिएका छन। स्थानीय तहले पनि अन्य सेवा सुविधाका लागि कन्जुस्याई गर्छ, संयोजक नेपालीले भने, सरकारले पनि स्वास्थ्यकर्मीलाई गर्ने व्यवहार दया लाग्दो छ। यो तत्काल सच्याइनु पर्छ। 

प्रकाशित: २५ जेष्ठ २०७५ ०६:५४ शुक्रबार

संघीयताले भोकभोकै मार्ने भो