समाज

अर्गानिक आलु उत्पादन गर्दै डडेल्धुराका किसान

गन्यापधुरा गाउँपालिका १ जर्मना लेकका बारीमा गरिएको आलु खेती।   तस्बिरः पुष्कर/नागरिक

डडेल्धुरा – डडेल्धुरा गन्यापधुराको उच्च पहाडी भेगमा स्थानयीले अर्गानिक आलु उत्पादन गर्दै आएका छन्। घना जंगलकोबीच भागमा भएको आवादी जमिनमा स्थानीयले आलु उत्पादन गर्दै आएका हुन्। 

गन्यापधुरा गाउँपालिका १ जर्मनाका स्थानीय वासीन्दाले अर्गानिक आलु खेती बाट राम्रो आय आर्जन गर्न समेत सफल भएका छन्। परम्परागत रुपमा मकै लगायका अन्य खेती जंगली जनावरले नोक्सान गर्न थालेपछि व्यवसायिक रुपमा अर्गानिक आलु खेती गर्न थालेको जर्मना लगायत असिग्रामका स्थानीय बताउँछन्। 

सिचाईको सुविधा नहुँदा बाझो रहने यहाँका खेतहरू अहिले आलु खेतीले हरियालीनै भएका छन्। आलु खेतीका लागि थोरै सिचाईका साथै जंगली जनावरले पनि क्षती नपुर्याउने भएपछि आलु खेती गर्न थालेका किसानहरू आलु खेती बाट एक सिजनमा मात्रै २ लाख भन्दा बढी रुपैयाँ आम्दानी गर्न थालेका छन्। 

१२ वर्ष भन्दा पहिलेदेखि जर्माना लेकमा आलु खेती गर्दै आएका कृषक पदम बहादुर बोहराले पहिले दुई कुन्टल बाट शुरुवात गरेको बताउँदै उनले भने, ‘अहिले १५ कुन्टल बिउ लगाएको छु।’  पहिला आफैले बिउ किनेर लगाउदा २ देखि ५ कुन्टल सम्म लगाउने गरेको थिए। उनले अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनले अनुदानमा बिउ दिन थालेपछि १५ कुन्टल बिउ लगाएकाले आम्दानी पनि राम्रै हुनेमा ढुक्क छन्। पहिले पाँच–सात कुन्टल लगाउदा मात्र वार्षीक रुपमा खर्च कटाएर एक लाख सम्म आम्दानी हुने गथ्र्याे उनले भने, ‘यस वर्ष त १५ कुन्टल जती आलु लगाएको छु , राम्रै होला।’ आलु निकाली सके पछि काउली खेती गर्ने उनले बताए। 

पहिला मकै रोपेर ५–६ कुन्टल फलेपनि भालु बँदेलले खाइदिने पिरलो र बचेको मकै आफुलाई खान मात्र ठिक्क हुने भएपछि अहिले आलु खेती गर्दै आएको अर्का किसान भोजराज महताले बताए। उनले आलुखेती गर्न थालेको चार वर्ष मात्रै भयो। यस वर्ष उनले २० कुन्टलको हाराहारीमा आलु लगाएको बताए। यहाँ उत्पादित आलुले प्रति कुन्टल ३ हजार रुपैयाँ भन्दा बढी नै मुल्य पाउने गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत डडेल्धुरालाई आलु उत्पादनका लागि सुपर जोन क्षेत्र घोषणा गरेपछि यहाँका किसान आलु खेती गर्न तर्फ आकर्षित भएका छन्। सुपर जोन कार्यक्रम अन्र्तगत आलु उत्पादनका लागि किसानहरुले आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७५ ०९:३७ बिहीबार

अर्गानिक आलु उत्पादन गर्दै डडेल्धुराका किसान