ललितपुर– ललितपुर जिल्लामा घरायसी झगडाका मुद्दाको संख्यामा बृद्धि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार साउनदेखि मात्रै १४३ घरायसी झगडाका मुद्दा दर्ता भएका छन् भने सोही अवधिमा घरायसीबाहेक अरु झैझगडाका १४२ वटा मुद्दा दर्ता भएका छन् ।
- घरायसी झगडाका मुद्दा १४३
- घरायसी बेगरका मुद्दा १४२
- पहिला श्रीमानबाट श्रीमती पीडित थिए अहिले विपरित अवस्था
- लिभिङ टुगेदरको संख्या बढेसँगे हिंसा बढेको
- इन्टरनेट र प्रविधि प्रयोगबाट हुने हिंसामा बृद्धि
महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख चञ्चला श्रेष्ठका अनुसार दर्ता भएका मुद्धा मध्ये धेरै महिला हिंसा र घरेलु झगडाका घटना छन् । श्रीमान् र श्रीमतीबीच पारिवारिक र आर्थिक बेमेलका घटना अहिले बढी देखिएको श्रेष्ठले बताइन् । धेरैजसो मध्यम र निम्न वर्ग तथा अशिक्षित व्यक्तिका मुद्दा प्रहरीसम्म आउने गरेका छन् । श्रेष्ठ भन्छिन्, “सम्पन्न परिवारका कोही महिला पीडित नै भए पनि समाजले के सोच्ला भनेर डराएर आउँछन् ।”
दशकौँदेखि प्रहरीसम्म उस्तै प्रकृतिका झगडा आउने गरेका छन् । श्रीमानले खान लाउन नदिएको, नागरिकता र सन्तानको जन्मदर्ता नगराएको र अर्की श्रीमती ल्याएका मुद्दा अझै बढी छन् ।
प्रविधिको प्रयोग र सामाजिक जीवनमा आएको परिवर्तनले गर्दा नयाँखालका घटनासमेत प्रहरीसम्म आउन थालेको छ । विवाह नगरी सँगै बस्ने तथा इन्टरनेट वा प्रविधिको प्रयोगमार्फत हुने हिंसाका घटना प्रहरीका लागि नयाँ हुन् । श्रेष्ठ भन्छिन्, “कतिपय अवस्थामा महिला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै आउँछन् तर हामीले अनुसन्धान गर्दा विवाह नभई सँगै बसेका हुन्छन् ।” श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन्।
प्रकाशित: २२ जेष्ठ २०७५ ०७:२० मंगलबार