समाज

न्यायाधीश सुवेदीले नागरिक विरुद्ध गोपाल खड्काको मुद्दा नहेर्ने

काठमाडौं – नागरिक दैनिकका सञ्चालक तथा पत्रकारसँग नाता सम्बन्ध देखाएर बेञ्च छल्ने प्रयास गरेका नेपाल आयल निगमका तत्कालिन प्रबन्ध निर्देशक गोपाल खड्काले दावी गरेको नाता पुष्टी गर्न असफल भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश कैलाश प्रसाद सुवेदीले सो मुद्दा आफूले नहेर्ने आदेश गरेका छन्।
 
‘नाता पुष्टी गर्न नसकेपनि विवाद आएकोले मैले मुद्दा नहेर्ने आदेश गरेको छु,’ सुवेदीले बहसमा उपस्थित भएका कानुन व्यवसायीलाई जानकारी दिए । न्यायाधीश सुवेदीको मुद्दा नहेर्ने आदेश पछि अब उक्त मुद्दा सुवेदी बाहेकको इजलासमा पेश हुनेछ।

न्यायाधीशसँग नाता पर्ने हो भने कुन कस्तो प्रकृतिको नाता हो पुष्टी गर्नु भनी खड्कालाई दिएको आदेशमा पटकपटक समय मागेपनि अन्ततः उनले नाता पुष्टी गर्न असफल भएको निवेदन अदालतमा दर्ता गराएपछि उक्त मुद्दा मंगलबारको लागि पेशी तोकिएको थियो। 

खड्काका वारेश मोतीलाल तामाङले जेठ १४ मा पेश गरेको निवेदनमा उल्लेख छः ‘यसमा मेरो सहिसाँचो व्यहोरा के छ भने सम्मानीत अदालत समक्ष मिति २०७५ जेठ ७ गते पेश गरेको निवेदनमा मा.न्या.संग विपक्षीको नाता पर्ने भनी उल्लेख गरेकोमा सम्मानीत इजलासबाट भएको आदेशमा विपक्षीको मा.न्या.संग के कुन प्रकारको, प्रकृतिको र के कति पुस्ता भित्रको नाता बारेमा खुलाउन आदेश भएको सन्दर्भमा नाता खुलाउन नसक्ने ब्यहोरा सादर निवेदन गर्दछु भनी भएको सहिसाँचो ब्यहोरा लेखी लेखाई श्री काठमाण्डौं जिल्ला अदालतमा चढाएँ।’

न्यायाधीश सुवेदी र पत्रिका संचालक तथा पत्रकारबीचमा नाता पर्ने भएकाले सुवेदीको इजलासबाट मुद्दा हेर्दा निष्पक्षताको अभाव हुने भएकाले न्यायाधीश सुवेदी रहितको इजलासबाट सुनुवाई गरीपाऊँ भन्ने माग पनि खड्काले आफ्नो निवेदनमा गरेका थिए ।  न्यायाधीश र पत्रिकाबीच नाता पर्ने निवेदन पेश गरी अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरी खड्काले मुद्धा हटाउने र रोेजेको इजलासमा पार्ने दुस्प्रयास जेठ ७ को पेशीमा गरेका थिए । तर उनलाई अदालतले जेठ १४ सम्म नाता पुष्टी गर्न अन्तिम मौका दिएको थियो।

आफ्नो कुनै नाता सम्बन्ध नभएको न्यायाधीश सुवेदीले प्रष्ट्याउदा समेत खड्काका कानुन व्यवसायी अरुण ज्ञवालीले मुलुकी ऐन, अदालती बन्दोबस्तको ३० नं. भित्रको नाता नभएपनि टाढाको नाता पर्ने र आफ्नो पक्ष सो इजलासमा मुद्दाको सुनुवाई गर्न तयार नभएकोले उक्त निवेदन पेश गर्नुपरेको बताएका थिए।

मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ३० नं. ले आफ्नो हाडमा अपुताली परे खान पाउने नाता र मामा माइजु, सानीठूलीआमा सानोठूलो बाबु, सासु ससुरा फुपुफुपाजु, जेठु साला मित आफ्ना दिदीबहिनी र छोरी र यिनै दिएका ज्वाईं भानिज भान्जी, भान्जी बुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरु गुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकर चाकर र लेखिएका मानिसको एकाघरसंग बसेका जाहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुदैन भन्ने व्यवस्था छ। 

असी करोडको क्षतिपूर्तिको मागदावी सहित खड्काले नागरिक दैनिक विरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् भने सो गलत मुद्दा दायर गरी आफूलाई क्षति पु¥याएकाले  एकअर्ब पचास करोड बराबरको क्षति खड्काबाट भराउन पनि नागरिकले प्रतिदावी गरेको छ । नेपाल रिपब्लिक मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले खड्का विरुद्ध पचास करोडको मागदावी सहित दायर गरेको अर्काे गालीबेइज्जती मुद्दा समेत सोही इजलासमा विचाराधिन छ।

नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँँटेल र संवाददाता दिलीप पौडेलबाट खड्काले जनही बीस करोडको क्षतिपूर्ति दावी गरेका छन्। संसदीय समितिको प्रतिवेदनका आधारमा आयल निगमको भ्रष्टाचारको विषयमा नागरिक दैनिकले समाचार प्रकाशित गरेको थियो। हालै प्रकाशित महालेखापरीक्षकको बार्षिक प्रतिवेदनमा खड्काको भ्रष्टाचार औल्याइएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०६:३७ मंगलबार

न्यायाधीश सुवेदीले नागरिक विरुद्ध गोपाल खड्काको मुद्दा नहेर्ने