समाज

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

ताप्लेजुङ – आइतबार र सोमबार दुईदिन ताप्लेजुङमा सञ्चालन भएको आँखा शिविरमा ३४ जना आँखाका बिरामीको शल्कृया सहितको उपचार भएको छ। ति मध्ये ३३ जनाको मोतिया बिन्दुको शल्यकृया र १ जनाको साधारण शल्यकृया भएको नेपाल नेत्र ज्योति संघ, डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इन्चार्ज  काजी गुरुङले जानकारी दिए।

गुरुङका अनुसार ३ सय २६ आँखा रोगीको परीक्षण गरिएको छ। धनकुटास्थित रामप्रसाद पोखरेल आँखा उपचार केन्द्रका डाक्टर नन्दा गुरुङ नेतृत्व टोलीले आँखाको शल्यकृया सहितको उपचार गरेको हो।

वर्षायामको समय भएपनि उल्लेख्य मात्रामा आँखाका बिरामी उपचार तथा परीक्षणका लागि आएको आयोजक नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका सभापति मुक्तिराज पौडेलले जानकारी दिए। नेत्र ज्योति संघले वर्षमा कम्तिमा दुई पटक सर्जिकल सेवा सहितको आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ।

नेत्र ज्योति संघले ताप्लेजुङका दुर्गम स्थानमा पनि आँखा शिविर सञ्चालन गर्ने र जटिल प्रकृतिका बिरामलाई इटहरी आँखा अस्पताल रेफर गर्ने तयारी थालेको समेत नेत्र ज्योति संघले जनाएको छ। इटहरीको शान्तिमार्गमा गएको बैशाख पहिलो सातादेखि नेत्र ज्योति संघका धनकुटा, ताप्लेजुङ र संखुवासभाको शाखाको संयोजन र सेवा फाउण्डेसनको सहयोगमा आँखा अस्पताल सञ्चालनमा आएको नेत्र ज्योति संघले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५ ०६:२२ मंगलबार

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया