काठमाडौं– भूकम्प गएको पनि तीन वर्ष वित्यो। भूकम्प गएको नौ महिनापछि २०७२ पुस १० गते मात्र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएपछि भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुर्नस्थापना गर्ने कामले गति लियो । प्राधिकरणले अब बाँकी रहेको दुई वर्षभित्र भूकम्पबाट क्षति पुगेका संरचनाको पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।
प्राधिकरणले अहिलेसम्मको झन्डै साढे २ वर्षमा २२ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको दावी गरेको छ । भूकम्पबाट प्रभावित ७ लाख ६७ हजार ७ सय पाँच मध्ये ७ लाख १८ हजार ५ सय ८१ परिवारसँग अनुदान सम्झौता गरेको छ । अनुदान सम्झौता भएका मध्ये २२ प्रतिशत लाभग्राहीले घर बनाइसकेका प्राधिकरणका अधिकारीले जानकारी दिएका छन् । बाँकी परिवारले धमाधम घर बनाइरहेका छन् ।
रसुवामा पुर्ननिर्माणको अवस्था
रसुवामा असार मसान्तसम्ममा झन्डै ६० प्रतिशत भूकम्प प्रभावितलाई छानामुनी ल्याइने लक्ष्य रहेको स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए । यहाँका १० हजार ७ सय ३७ लाभग्राही मध्ये ९५ प्रतिशतको अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका मध्ये ९७ प्रतिशतले पहिलो किस्ताको, ८२ प्रतिशतले दोस्रो किस्ता र ३७ प्रतिशतले तेस्रो किस्ताको रकम बुझिसकेको उपाध्यायले जानकारी दिए । रसुवाका ८ सय ४४ परिवार जोखिमपुर्ण क्षेत्रमा बसोवास गरिरहेका छन् । यिनीहरुको बसोवास स्थानान्तरण गर्ने बारे काम भइरहेको उपाध्यायले जानकारी दिए ।
ब्ल्याक भिलेजको पहिचान मेटिदै
भौगौलिक रुपमा विकट रहेको रसुवामा गाँउ र समुदायपिच्छे आ–आफ्नो भाषा सांस्कृति छ । तर भूकम्पपछि भने स्थानीयहरुले आफ्नो संस्कृतिको जर्गेना गर्न सकिरहेका छैनन् । यसअघि ब्ल्याक भिलेजको नामले परिचित पार्वतीकुण्ड गाँउपालिकाको गत्लाङ गाँउको स्वरुप भूकम्पपछि भने फेरिएको छ । परम्परागत रुपमा घरहरु ढुङ्गाको गारोले मात्र बनाइने र छाना पनि काठको मात्र हुने भएकाले यसलाई ब्ल्याक भिलेजको उपनाम दिइएको हो। पाँच सय घरधुरी रहेको यो गाउँको मुहार अहिले कायापलट बनेको छ ।
स्थानीय फुपु सिन्की तामाङ भन्छन्, ‘हाम्रो पहिचानलाई पनि नगुमाउने र भूकम्प प्रतिसोधी पनि कसरी बनाउन सकिन्छ त्यो खालको आवजहरु पनि उठाउदै आएको हो, तर राज्यको नीतिनियमले बाँधेर हाम्रो त्यो कुराहरु सुनुवाई भएन्, भुगोल र त्यहाँको पहिचानको अवस्था हेरेर राज्यले सहयोग गरिदिएको भए यो भन्दा प्रभावकारी हुने थियो ।’
पर्यटकीयस्थल गत्लाङको पहिचान जोगाउन सरकारले नसकेको रसुवाका जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानिय पुर्वधार कार्यलय प्रमुख कृष्णकान्त उपाध्यायले स्वीकारे । उपाध्यायले भने, ‘तामाङ सम्पदा त्यहाँको जनताको इच्छा अनुसार हामीले घर निर्माण गर्न सकेनौँ । सरकारको मोडलअनुसार गर्न गर्नुप¥यो त्यसैले ब्ल्याक भिलेजको रुप बदलिएको छ । गत्लाङको पहिचान तामाङ जातिको जीवनशैलीसँग जोडिएको छ।’ ढुङ्गाले गारो लगाएका, काठको छाना भएका तीनतले घरहरु अहिले गत्लाङमा फाट्टफुट्ट मात्रै छन् ।
नुवाकोटमा पुनर्निर्माणका लागि निर्माण सामग्रीको अभाव
भूकम्पले क्षती पु¥याएको नुवाकोटमा पुनर्निर्माणको काम सुस्त छ । ६९ हजार २ सय ८९ जना लाभग्राही रहेको नुवाकोटमा सबै लाभग्राहीले पहिलो किस्ताको रकम बुझिसकेका छन् भने ५१ हजार ९८ प्रभावितले दोस्रो किस्ताको रकम बुझेका छन् । यस्तै तेस्रो किस्ता भने जम्मा ७ हजार ६ सय ८४ परिवारले मात्र पाएका छन् ।निर्माण सामग्रीको मुल्य आकाशीएकोले तेस्रो किस्ताको रकम कम लाभग्राहीले मात्र लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाई नुवाकोटका निम्त्ति प्रमुख उशेष श्रेष्ठले बताए। डन्डीको मुल्य सर्वसाधरणले खरिद गर्ने स्थिति छैन, एक सय रुपैयाँ प्रतिकेजी भइसक्यो, सिमेन्ट प्रतिवोरा एक हजार भएको छ, व्यवसायीहरुको अडानका कारण बालुवा गिट्टीको अभाव भएको छ, श्रेष्ठले भने।
यस्तै, नुवाकोटमा २ सय ६६ जोखुमयुक्त परिवार छन्। उनिहरुलाई सुरक्षित ठाँउमा स्थानन्तरण गर्ने प्रक्रिया अगाडि बढेको श्रेष्ठले जानकारी दिए । नुवाकोटको कतिपय स्थानीय तहले मापदण्ड विपरीत नक्शा पास गरेकोले त्यस्ता घरलाई दोस्रो किस्ता र तेस्रो किस्ताको रकम निकासा नगरेको श्रेष्ठले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारीबीच समन्ययको अभाव
नुवाकोटमा स्थानीय तह र अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाईबीचको समन्य प्रभावकारी देखिएको छैन । भूकम्प प्रभावितले पाउने किस्तावापतको रकम स्थानीय तहमा पठाएमा सिधै वितरण गर्न सकिने भएपनि त्यसो हुन नसकेको विदुर नगरपालिकाकी उपमेयर गीता दाहालले गुनासो गरिन् । उपप्रमुख दाहाल भन्छिन्, ’स्थानीय सरकारलाई किस्ता रकम वितरण गर्ने जिम्मेवारी देउ भन्दा दुरुपयोग हुन्छ भन्ने तर केन्द्र सरकारले समयमा पठाउन नसक्ने, अनि कसरी हुन्छ समयमा काम?’
एक महिनादेखि काम ठप्प
नुवाकोटमा व्यवसायीहरुले गिट्टी बालुवाको मुल्य वृद्धिगरेपछि अहिले स्थानियहरुको घर निर्माण कार्य रोकिएको छ । विदुर नगरपालिकाको कतिपय वडामा एक महिनादेखि पुनर्निर्माणको काम ठप्प छ।
मापदण्ड विपरीत बनेका घरलाई पुर्नप्रवलीकरण गर्न प्राविधिकहरुले सुझाव दिएपनि आर्थिक स्थिति कमजोर हुनु, सरकारले दिएको तीन लाखले घर निर्माण सम्पन्न गर्न नसक्नु, समयमै निर्माण सामग्री नपाउनु लगायतका कारणले नुवाकोटमा पुनर्निर्माणको कामले गति लिएको छैन ।
नुवाकोट दरवारको पुनर्निर्माण सुरु हुन सकेन
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोट जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र नुवाकोट दरबार क्षेत्रलाई क्षति पु¥यायो । जिल्लाको आकर्षणको स्थल तथा परिचय बनेर रहेको साततले दरबारमा समेत क्षति पुग्यो । चीन सरकारले पुर्न निर्माणको जिम्मा लिएको सो दरबारको पुर्ननिर्माण अझै सुरु हुन सकेको छैन ।
दरबार पुनर्निर्माणमा ढिलाई हुदाँ स्थानीयबासी भने निराश भएका छन् । स्थानीय मन्जुकुमारी शाह भन्छिन्, चीनले बनाउने भनेको छ अब कहिले बनाउछ पत्तो छैन।’
यो दरवारको विसं १९९० को भूकम्पमा गजुर र बुर्जा झरेको थियो । नौतले दरबारको दुईतला भूकम्पले खसेपछि सात तले बनाइएको थियो । हालको भूकम्पमा गजुर नखसे पनि पश्चिमपट्टि तेस्रो र चौथो तलाको बाहिरको गाह्रो भत्किएको छ । पाँचौँ र छैटौँ तला चर्किएको छ । बाहिर हेर्दा ठाडो देखिए पनि चारैतिर गाह्रो चिरिएर जीर्ण बनेको छ साततले दरबार ।
साततले दरबारसँगै रहेको भैरबी मन्दीरका पुजारी हरीमान सिंह डङ्गोल भन्छन्, ’चीनलाई दिएपछि गत भदौमा १५–१६ दिन बसेर सर्भेपनि गरेर गएको हो, त्यहाँबाट के भयो कसो भयो केही थाहा छैन। भूकम्पले दरबार क्षेत्रमा रहेको गारदघरमा सबैभन्दा क्षति भएको छ। गारदघरको माथिल्लो तलाको आधा भाग नै भुइँमा खसेको छ भने छाना लगभग पुरै भत्किएको छ । राजाले मनोरञ्जन लिने स्थलका रुपमा निर्माण गराइएको रङ्गमहल पनि भत्किएको छ । दरबार क्षेत्रमा रहेको नारायण मन्दिरलगायत साना मन्दिरमा समेत क्षति पुगेको छ। शब्द र तस्बिर सबै मोती अंगाइ