समाज

वीरमा उपकरण खरिदको छानबिन

काठमाडौं – औषधि तथा उपकरण खरिदलगायत विभिन्न कोटेसन तथा बोलपत्रमा अनियमितता भएको उजुरीका आधारमा राष्ट्रिय सर्तकता केन्द्रले वीर अस्पतालमा छानबिन थालेको छ। हालै अस्पतालले खरिद गरेको सिटिसक्यान र अन्य उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि सर्तकता केन्द्रको टोली अस्पताल पुगेको हो।

उजुरीपछि सर्तकताले स्वास्थ्य मन्त्रालयसहितको छानबिन टोली बनाएर काम थालेको हो । केन्द्रबाट आइतबार अस्पताल पुगेका टोलीका संयोजक यामप्रसाद भुसालले आइतबार अस्पतालका निर्देशक, खरिद इकाइ विभाग, न्युरोसर्जन प्रकाश बिष्ट र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङसँग छलफल गरेको बताए। ‘पहिलो दिन छलफल गरेर सम्बन्धित विभागका काजगपत्र माग्ने काम भएको छ, अरु काम भोलि हुनेछ,’ समितिका संयोजक भुसालले भने।

प्रक्रिया नपु¥याइ सिटिस्क्यान मिसिन खरिद गरिएको सूचना सतर्कता केन्द्रमा पुगेपछि छानबिन थालिएको बताइएको छ । टोलीमा केन्द्रका शाखा अधिकृतहरु भोला खड्का, तुलाराम अधिकारी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि गरी चार जना सहभागी छन्। यस बारेमा जिज्ञासा राख्दा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति गुरुङले केही निश्चित स्वार्थी समूहको पूर्वाग्रहका कारण निवेदन परेकाले सतर्कता केन्द्र छानबिनको लागि अस्पताल आएको बताए।

प्रकाशित: २१ जेष्ठ २०७५ ०४:२० सोमबार

वीरमा उपकरण खरिदको छानबिन