समाज

१५ जना फरार अभियुक्त पक्राउ

सुर्खेत- अदालतबाट विभिन्न मितिमा फैसला भएर फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। इलाका प्रहरी कार्यालय बावियाचौरले आइतबार एकै दिन १५ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ।

जिल्ला अदालतले सामुदायीक वनमा विना स्वीकृत रुखहरु काटेको भन्दै २०७३ कात्तिक ३० गते पञ्चपुरी–८ विद्यापुरका तीन जना र चैत ११ गते चौकुने–५ विजौराका १२ जनालाई जरिवानाको फैसला गरेको थियो। फैसलापछि फरार रहेका १५ जनालाई पक्राउ गरेर अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए।

१५ जनाबाट चार लाख ८६ हजार दुई सय ८८ रुपियाँ जरिवाना असुल गर्न बाँकी छ। प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चौकुने गाउँपालिका–५ विजौराका मानबहादुर दानी, नरसिंह थापा, देवीसिंह कसेरा, अम्मरबहादुर दानी, जनकसिंह थापा, कमला थापा, जमुना आले, तेजेन्द्रबहादुर बयक, दूतकला विक, लक्ष्मी विष्ट, नौरता विक र मन्जु थापा तथा २०७३ कात्तिक ३० गतेको फैसला अनुसार बावियाचौर–८ विद्यापुरका रती कामी, दीप सुनार र खगे कामीलाई पक्राउ गरिएको हो।

अदालतका अनुसार मानबहादुर दानी, अम्मरबहादुर दानी र तेजेन्द्रबहादुर बयकबाट जनही १० हजार दुई सय ९७ रुपियाँ जरिवाना असुल गर्न बाँकी छ। यस्तै नरसिंह थापा, देवीसिंह कसेरा, जनकसिंह थापा, कमला थापा, जमुना आले, दूतकला विक, लक्ष्मी विष्ट, नौरता विक र मञ्जु थापाबाट जनही ३३ हजार नौ सय ३३ रुपियाँ असुल गर्न बाँकी छ भने रती कामी, दीप सुनार र खगी कामीबाट जनही ५० हजार रुपियाँ असुल गर्न बाँकी छ।

प्रकाशित: २० जेष्ठ २०७५ १२:४८ आइतबार

१५ जना फरार अभियुक्त पक्राउ