समाज

पशुमा भ्यागुते रोगको संक्रमण

बाँके – डुडुवा गाउँपालिकामा पशु चौपायामा भ्यागुते रोग (घटरुवा) को महामारी फैलिएको छ।

रोगको संक्रमणले अहिलेसम्म ६ वटा पशुचौपाया मरेका छन् भने करिब ३०० पशु बिरामी परेका छन्। गाउँपालिकाको वडा नं २ बेतहानी र वडा नंं ४ कम्दीका किसानले पालेका पशुमा एक सातादेखि रोगको महामारी देखिएको हो।

खोप नदिएका बाहिरबाट खरिद गरी ल्याएका पशु तथा रोगी पशु मरेपछि गाउँ नजिकै अव्यवस्थित रुपमा फाल्दा रोगको संक्रमण फैलिएको गाउँपालिकाका पशु चिकित्सक अशोककुमार पाण्डेले बताए। ज्वरो आउने, मुखबाट र्याल बग्ने, घाँटी सुन्निने र घ्यार घ्यार गरी तत्कालै पशु मर्ने गरेका छन्।

पशुमा फैलिएको रोगको उपचार शुरु गरिएपछि अहिले नियन्त्रणमा आएको छ। भ्यागुते रोगविरुद्ध एक्सेप्ट, डेक्सोना र जिट खोप दिई उपचार तीव्र पारिएको पशु चिकित्सक पाण्डेले बताए। यो सुई पशुलाई ६–६ घण्टामा दिइन्छ।

गाउँपालिकाले पशुको निःशुल्क उपचार गरिरहेको छ। उपचारका लागि खटिएका छजना पशु स्वास्थ्य प्राविधिकले उपचारसँगै निःशुल्क औषधिसमेत वितरण गर्दै आएकहा छन्। गाउँपालिकाले सञ्चालन अभियानका कारण रोग नियन्त्रणमा आएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए।  (रासस)

प्रकाशित: २० जेष्ठ २०७५ ०८:०५ आइतबार

पशुमा भ्यागुते रोगको संक्रमण