दार्चुला– दार्चुलाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ। राज्यको पहुँच नहुँदा हुने गरेको प्राकृतिक स्रोतको दोहन, चोरी सिकारी तथा तस्करीका साथै छिमेकी हस्तक्षेप नियन्त्रण र सीमा अद्यावधिक तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको टोली त्रिदेशीय सीमा क्षेत्रमा गस्तीमा गएको हो।
हरेक वर्ष यस अवधिमा हिमाली सीमामा अवैध गतिविधि बढ्ने तथा तिंकर नाका हुँदै तस्करी समेत हुने गरेको सुन्नमा आउने भएकाले सीमा क्षेत्रका सबैखाले गातिविधिहरुको अध्ययन तथा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मबाट बन्दोबस्तीका सामानसहितको गस्ती टोली शनिबार व्यास गाउँपालिकाको तिंकर हुदै लिपुलेक सम्म सीमा क्षेत्रमा गस्ती तथा सीमा निगरानीमा निस्केको गुल्मपति डिएसपी अम्बिकाप्रसाद जोशीले बताए।
उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक विकास थापाकोे नेतृत्वमा बन्दोबस्तीका सामानसहित ३२ जनाको टोली सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न, सीमा क्षेत्रमा भइरहेका गतिविधिको नियन्त्रण, अपराधिक गतिविधि नियन्त्रण, चोरी सिकारी तथा अवैध पैठारी, त्रिदेशीय सीमा बिन्दु लिपुलेकसम्मको सीमा निगरानीमा गएको छ। गुल्मपति जोशीले भने– ‘टोली मौसमले साथ दिएमा व्यास गाउँपालिकाका वडा नं. १ को त्रिदेशीय सीमा तिंकर हुँदै लिपुलेक पिलर नम्बर १ सम्म पुग्ने छ।’
सशस्त्रको टोलीले ब्याँस गाउँपालिकाको वडा नम्बर १ मा पर्ने लिपुलेकमा रहेको चीन र नेपालको सीमाना छुट्याउने पिलर नम्बर १ को समग्र अवस्थाका बारेमा जानकारी लिने र सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अवैध सामग्री नियन्त्रणमा लिनेछ। दार्चुलाका हिमाली क्षेत्रमा पाइने विभिन्न लोपउन्मुख वन्यजन्तुको चोरी सिकारी कार्यलाई नियन्त्रण गर्न अवैध हातहतियार भएको शंका लागेको घरमा छापा मारेर नियन्त्रणमा लिने गुल्मपति जोशीको भनाई छ।
सीमा क्षेत्रको सुरक्षा चुनौती र सीमा स्तम्भहरुको अवस्था बुझ्न खटिएको सशस्त्र प्रहरीले यार्सा संकलकलाई समेत सुरक्षा दिनेछ। अहिले दार्चुलाका यार्सा पाइने लेकहरुमा यहाँका स्थानीयहरु यार्सा टिप्न गएका छन्।
त्रिदेशीय नाकामा राज्यको उपस्थिति अपरिहार्य
प्रकाशित: १९ जेष्ठ २०७५ ११:१६ शनिबार