समाज

सैन्य टोलीको फ्रान्स भ्रमण रोकियो

काठमाडौं – फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जाने भनिएको सैनिक टोलीको भ्रमण रद्द भएको छ।

हेलिकप्टर खरिद गर्नुअघि इन्जिनियर र पाइलटसहितको सैन्य टोली जेठ पहिलो साता प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जान लागेको थियो। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैन्य टोली फ्रान्स जाने भनिए पनि अन्तिममा भ्रमण रद्द भएको बताए।

सुत्रका अनुसार फ्रान्स जाने भनिएको टोलीलाई सरकारले स्वीकृति नदिएपछि भ्रमण रद्द भएको हो। सेनाले आफैले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गएर हेलिकप्टर खरिद गर्न लागेपछि ‘प्रि–डेलिभर इन्सपेक्सन’ का लागि जान लागेको टोलीको भ्रमणका लागि सरकारले स्वीकृति नदिएको स्रोत बताउँछ।

सेनाले भने सरकारले पछिल्लो समय विदेश भ्रमणमा गरेको कडाइका कारण उक्त भ्रमण रद्द भएको बताएको छ। नेपालबाट गएको प्राविधिकसहितको टोलीले जाँच गरेर सहमति जनाएपछि उक्त हेलिकप्टर नेपाल ल्याइने सेनाले जनाएको थियो।

सेनाले प्रि–डेलिभर इन्सपेक्सनका लागि जाने भनिएको टोली फ्रान्स नगए पनि हेलिकप्टर खरिद प्रक्रिया नरोकिने जनाएको छ। ‘हेलिकप्टर खरिद प्रक्रिया अघि बढिसकेको छ, भ्रमण नहुँदैमा खरिद प्रक्रियामा कुनै असर पर्दैन,’ एक उच्च सैनिक अधिकारीले भने।

नेपाली सेनाले २५ लाख ६८ हजार तीन सय ७६ युरोमा फ्रान्समा बनेको उक्त हेलिकप्टर खरिद गर्ने निर्णय गरेको हो। विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि लाइट हेलिकप्टर खरिद गर्न सेनाले बोलपत्र माग गरेपछि फ्रान्स र अमेरिकाका हेलिकप्टर निर्माता कम्पनीले बोलपत्र पेस गरेका थिए।

३१ लाख ९० हजार आठ सय ७२ युरो लागत अनुमान स्वीकृत गरी सेनाले बोलपत्र माग गर्दा त्यसमध्ये फ्रान्सको कम्पनीका तर्फबाट सिंगापुरस्थित एक एजेन्टले कम अर्थात् २५ लाख ६७ हजार तीन सय ७६ युरो कबोल गरेपछि सेनाले फ्रान्सेली कम्पनीको बोलपत्र स्वीकृत गरेको हो।

०७३ असार १६ मा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई एउटा मिडिएम र दुईवटा लाइट हेलिकप्टर खरिद गर्न स्वीकृति दिएको थियो। स्वीकृति दिएका मध्ये दुईवटा लाइट हेलिकप्टर खरिद गर्ने गरी बोलपत्र आह्वान गरे पनि सेनाले एउटामात्र इक्वेटर हेलिकप्टर खरिद गर्ने निर्णय गरेको हो।

सेनाले अर्काे हेलिकप्टर खरिदका लागि अमेरिकाको वेल हेलिकप्टर कम्पनीसँग सम्झौता गरिसकेको छ। वेल कम्पनीले सेनालाई हेलिकप्टर बिक्रीका लागि आर्थिक प्रस्ताव पेस गरेकोमा उक्त कम्पनीसँग ३८ लाख अमेरिकी डलरमा हेलिकप्टर खरिद गर्ने गरी सेनाले सम्झौता गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०१:४८ शनिबार

सैन्य टोलीको फ्रान्स भ्रमण रोकियो