समाज

सुर्खेत–दिल्ली बस शुरु

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीसम्म शुक्रबारदेखि बस सेवा सुरु भएको छ । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतले सुर्खेत–दिल्ली बस सेवा शुरु गरेको हो। 

सुर्खेतदेखि दिल्लीसम्मको छ सय ३४ किलोमिटर दूरीको भाडा दुई हजार चार सय छ । ‘उपचारका लागि र रोजगारीका लागि दिल्लीसम्म जाने यात्रुहरूको सहजताका लागि बस सेवा सुरु गरेका हौं’ संघका अध्यक्ष विष्णुबहादुर खड्काले भने, ‘यात्रुहरूको चाँपलाई हेरेर सेवा विस्तार गर्नेछौं ।’ मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघले हाललाई सातामा दुई पटक सुर्खेतबाट बस छुटाउने जनाएको छ । रारा एसी नाम दिइएको बस ३५ सिटे छ ।

कर्णाली प्रदेशका अधिकांश रोजगारी र उपचारका लागि भारत जाने गर्दछन्। ‘रोजगारीका लागि गएर फर्किने क्रममा लुटिनेहरु भारतमा बढ्दो छ, नेपालीहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पनि बस सेवा सुरु गरेका हौं।’ कर्णाली प्रदेशबाट दिल्लीसम्म बस सेवा शुरु भएको यो पहिलो हो । संघले सुर्खेतबाट आइतबार र बुधबार तथा दिल्लीबाट मंगलबार र बिहीबार बस छुटाउने छ।

एसी बस संयोजक दुर्गाप्रसाद ज्ञवालीले सुर्खेतबाट सञ्चालन हुने बस रुपैडिहा, बरेली, गाजियाबाद हुँदै दिल्ली पुग्ने छ।  दिउँसो तीन बजे सुर्खेतबाट छुट्ने बस दिल्लीमा विहान पाँच बजे पुग्ने उनले जानकारी दिए । ‘बसमा फ्रि वाइफाई, मोवाइल चार्जर, एसी, पानीलगायतका सुविधा दिएका छौं’ उनले भने, ‘यात्रुको चाप अनुसार सेवा थप्दै जाने सोच बनाएका छौं ।’

प्रकाशित: १८ जेष्ठ २०७५ १५:२५ शुक्रबार

सुर्खेत–दिल्ली बस शुरु