समाज

रोल्पामा देखिन्छन् अझै युद्धको झल्को

परिवर्तन गाउँपालिका–५ रांकोट गोरीचौरमा रहेका बंकरहरू। तस्बिरः दिनेश/नागरिक

रोल्पा – १० वर्षको सशस्त्र युद्ध सकिएको १२ वर्ष बितिसकेको छ। तर रोल्पाको गाउँमा भेटिने बंकरले अझै सशस्त्र युद्धको झल्को दिने गरेका छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका समयमा गरिएका युद्ध अभ्यासका केही अवशेष अहिले पनि रोल्पाका ठाउँठाउँमा भेटिन्छन्। विशेषगरी कथित ‘भारतीय विस्तारवाद’ सँग लड्न भनेर स्थानीय बासिन्दालाई बनाउन लगाइएका बंकरहरू आज पनि जिल्लाका विभिन्न ठाउँमा भेटिने गरेका हुन्।

रणनीतिक प्रत्याक्रमणका नाममा ‘सुरुङ वार’ गर्ने भन्दै गाउँगाउँमा दर्जनौ बंकरहरु खनिएका थिए । स्थानीयका अनुसार ती बंकरले अझै पनि राज्य र विद्रोही माओवादी बीचको युद्धको झल्को दिने गर्छन्।

वि. सं. २०६१ आफ्नो १५/१६ जनाको समूहले करिब २ हप्ता लगाएर जिल्लाका विभिन्न गाउँमा ९१ वटा बंकर खनिएको अहिले पनि झल्झली याद आउने गरेको बताउँछन् स्थानीय शिक्षक गोपालबहादुर वली। ‘आज पनि बंङकरहरूले युद्धको झझल्को दिन्छन् । उबेला के–के न होला जस्तो लाग्थ्यो। अहिले आउँदा त्यो बेलाका गतिविधि बेकारका रै’छन जस्तो लाग्छ।’

दाङ क्याम्पस पढ्न गएका केसी विदामा घर आएका बेला माओवादी अभियानमा हिंडाइएका थिए। उनी भन्छन्, ‘अब ती बंकरलगायत युद्धसँग सम्बन्धित सबै कुराको संरक्षण गर्नुपर्छ। त्यो त एउटा इतिहास हो नि।’

नभन्दै रोल्पाको परिवर्तन गाउँपालिका–५, रांकोट गोरीचौरमा वडा कार्यालयले युद्ध कालका बंकरहरूको संरक्षण थालेको छ। ‘राज्यले बंकर तथा युद्धसँग सम्बन्धित अन्य कुराहरूको संरक्षणमा चासो दिएन। अरू नसके पनि यहाँ भएका बंकरहरूको हामीले संरक्षण गर्ने प्रयास गर्दैछौं,’ वडाध्यक्ष सुक बहादुर बुढाले भने।

करिब ८ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले सहिद स्मारक पनि बनाउँदै छ। बंकरहरूका बीचमा युद्धमा मारिएका तथा बेपत्ता पारिएकाहरूको नाम लेखेर स्मारक बनाउन थालिएको वडाध्यक्ष बुढाले बताए। उनले भने, ‘यो वडाका ११ जना मृतकमध्ये ७ जना सहिद हुनुहुन्छ। दुई जनालाई सेनाले बेपत्ता बनाएको हो। उहाँहरूको नाम ठेगाना लेखेर स्मारक बनाउदैं छौं। तारबार गरेर बंकरहरूको पनि संरक्षण गरिने छ।’

पटकपटक साना–ठूला दर्जनौं भिडन्त भोगेको रांकोट गोरीचौरमा युद्धका निसानीहरू अरु पनि छन्। स्वास्थ्य चौकीका भित्ताहरूमा गोलीले पारेका प्वाल, शरीरमा गोली बोकेर बाँचिरहेका घाइते, आफन्त गुमाएकाहरू, बेपत्ताका परिवार सबै छन्। तर यसतर्फ कसैका ध्यान नगएको स्थानीय बासिन्दा बताउँछन्।

स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा आउने भनिएको सिंहदरबारले आफूहरूका पक्षमा कुनै कार्यक्रम आउला कि भन्ने अपेक्षा गरेका रोल्पाका द्वन्द्वपीडितहरू अहिले निराश बनेका छन्। ‘द्वन्द्व पीडितका पक्षमा उहिले पनि केही भएन अहिले झन् केही भएन। भोट माग्दा त के–के गर्न गर्छु भन्थे तर अहिले सबै भुले,’ एक द्वन्द्वपीडितले गुनासो गरे।

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App