समाज

रोकिएन पश्चिम दाङको झाडापखाला, बिरामी संख्या १२ सय पुग्यो

झाडापखालाका बिरामी र उपचार गर्दै नेपाली सेना। तस्बिर : नागरिक

दाङ – शनिबारदेखि पश्चिम दाङमा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण आइतबार बेलुकासम्म बिरामी हुनेको संख्या एघार सय ७३ पुगेको शान्तिगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी दिए। सिंगो गावैँभरी फैलिएको झाडा पखालाका कारण मानवीय क्षेतीभने भएको छैन। ‘बिरामीहरु थपिने क्रम अधिक छ’, उनले भने, ‘तर मानवीय क्षेती भने अहिलेसम्म भएको छैन।’

बिरामीको संख्या थपिने क्रम जारी रहेको भन्दै उनले यो संख्या अँझै बढ्ने बताए। आइतबार बिरामीको संख्या दोब्बर बढेपछि शान्तिनगरमा भफैलिएको झाडापखाला नियन्त्रण भन्दा बाहिर पुगेको छ। उनका अनुसार शनिबारकोभन्दा आइतबार बिरामीको संख्या दोब्बर बढेको छ। आइतबार ७ सय ४५ जना नयाँ बिरामी थपिएका छन्।

शनिबार रातिसम्म बिरामीको संख्या ४ सय १९ थियो। शनिबार भन्दा आइतबार बिरामीको संख्या निकै धेरै बढ्यो,’ उनले भने, ‘झण्डै दोब्बर बढि बिरामी थपिएका छन्।’ उनका अनुसार आइतबार उपचारका लागि पुगेका बिरामीहरुको अवस्था शनिबार भन्दा बढी गम्भिर समेत रहेको छ।

आइतबार दुई जना गम्भिर बिरामीलाई नेपालगन्ज रेफर गरिएको छ। ‘आइतबार आएका बिरामीहरुको अवस्था अलि गम्भिर रहेको छ,’ पुनले भने। ‘दुईजना गम्भिर बिरामीलाई रेफर गरेका छौँ।’ बिरामीको अत्यधिक चाप बढेपछि शान्तिनगर स्वास्थ्य चौकीको बाहिर चउरमै राखेर बिरामीको उपचार गरिएको छ।

उपचारमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसँग तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल तथा नेपाली सेनाको चिकित्सक टोलीले उपचार गरिरहेको छ। यि चिकित्सक टोलीहरुले स्वास्थ्य चौकी परिसरमै बसेर उपचार गरिरहेका छने। ‘बिरामीहरु आउने क्रम जारी नै छ,’ पुनले भने, ‘ठाउँको अभाव भएपछि चउरमै राखेर उपचार गरिरहेका छौँ।’ बिरामी ओसार्नका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन्। ‘बिरामीहरु आँफै हिँडेर उपचारका लागि आउन सक्ने अवस्थाका हुनुहुन्न,’ पुनले भने, ‘बिरामी ओसार्नका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ, गाउँबाट बिरामी भएको जानकारी पाउनासाथ एम्बुलेन्स कुदाउँछौँ।’

शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा वितरण भएको खानेपानीको प्रदुषणका कारण झाडा पखाला फैलिएको आशंका गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले पिउने पानीको प्रदुषणका कारण झाडा पखाला फैलिएको आशंका भएको र उक्त पानीको परिक्षण गर्न लागिएको जनाएको छ। ‘पिउने पानीकै प्रदुषणका कारण झाडा पखाला फैलिएको सम्भावना धेरै देखिन्छ,’ जिल्ला जनस्स्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले भने, ‘पानी परिक्षणका लागि स्याम्पल संकलन गरेका छौँ, माथिबाट परिक्षण टोली आएर उक्त पानीको परिक्षण गर्ने छ।’

दुषित पानीका कारण झाडा पखाला फैलिएको दाबी गरिएको भएपनि आइतबारसम्म स्थानीयले सोही पानीनै पिएका छन्। सोही कारण शनिबारभन्दा आइतबार बिरामीहरुको संख्या बढेको दाबी गरिएको छ। पिउने पानीको अन्य बिकल्प नभएपछि गाउँलेहरुले सोही दुषित भनिएकै पानी पिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए। उनले पानी उमालेर मात्रै पिउन गाउँलेहरुलाई सुझाव दिएको पनि बताए।

नेपाली सेनाको टोलीले आइतबार गाउँमा वितरित पानीको मुहान र ट्यांकी सफाइ गरेको छ। यो गाउँपालिकाको ३ र ४ मा वितरीत खानेपानीको मुख्यमुहान माइलीपानीमा पानी कम हुन थालेपछि केही समयअघि अर्को मुहानबाट पानी बितरण गरिएको थियो। नयाँ मुहानको पानी प्रशोधन नगरी ट्यांकीमा मिसाइएको बताइएको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०३:५८ सोमबार

रोकिएन पश्चिम दाङको झाडापखाला बिरामी संख्या १२ पुग्यो