समाज

राष्ट्रिय न्यायीक संग्राहलय गठन प्रक्रिया सुरु

काठमाडौं- कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले पदभार सुरु गर्दा प्रतिबद्धता जनाएको राष्ट्रिय न्यायिक संग्रहालय गठनका लागि सर्वोच्च अदालतले प्रक्रिया सुरु गरेको छ।

 राष्ट्रिय न्यायिक संग्राहालय गठन र त्यसमा के कस्ता विषय समेट्ने भन्ने उद्धेश्यका लागि राय सुझाव दिन सर्वोच्च अदालतको पूर्ण बैठकले हालै न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा एक समिति गठन गरेको छ। चैत १ गते कायम मुकायम प्रधान न्यायाधीश जोशीले कार्यवाहकको रुपमा काम सुरु गर्दा आफूलाई न्यायीक संग्रहालय गठन गरी न्यायक्षेत्रसंग सम्बन्धित महत्वपूर्ण दस्तावेज तथा सामाग्री संकलन गर्ने न्यायीक संग्रहालय गठन गर्ने चाहना रहेको बताएका थिए।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार, सो समितिमा सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र पुरातत्व विभागका एक प्रतिनिधि सदस्यको रुपमा रहनेगरी पूर्ण बैठकले निर्णय गरेको छ। सो समितिको सदस्य सचिवमा सर्वोच्च अदालतका उपसचिव सन्देश श्रेष्ठ रहेका छन् । प्रवक्ता पोखरेलका अनुसार उक्त समितिले तीन महीना भित्र आफ्नो राय सुझाव पेश गर्ने कार्यादेश पाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७५ १३:३२ आइतबार

राष्ट्रिय न्यायीक संग्राहलय गठन प्रक्रिया सुरु