समाज

काखे सन्तान च्यापेरै यार्सा संकलन

यार्सा टिप्न हिमाल तर्फ जाँदै। तस्बिर : सुमन मल्ल

शिरानी चौर (मुगु)- मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर १ डोल्फु र वडा नम्बर २ मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बा संकलनका लागि वन प्रवेश शुल्क बापत ६१ लाख राजश्व संकलन भएको छ।

यार्सा संकलन गर्न बनमा प्रवेश गर्न जाने संकलकहरुबाट जेठ २ गते बाट प्रवेश शुल्क उठाएर जेठ ६ गते बन प्रवेश गराईएको थियो। जिल्ला भित्रका संकलकहरुबाट पन्ध्र सय र जिल्ला बाहिरका संकलकबाट दुई हजार शुल्क निर्धारण गरिएको थियो । वन प्रबेश शुल्कबाट ६१ लाख ९२ हजार राजश्व संकलन भएको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कार्मा तामाङ्गले जानकारी दिए।

संकलन भएको राजश्व मध्य गाउँपालिकालाई १७ लाख ४५ हजार १ सय, वडालाई २३ लाख २६ हजार ८ सय , स्थानीय सहयोग समितिलाई ३ लाख ७५ हजार र विविध खर्च १७ लाख ४५ हजार १ सय रहेको वडाध्यक्ष तामाङ्गले बताए।

वन प्रवेश शुल्क नतिरेरै चोरहरु वन प्रवेश गरेका र यो पटक हिउँ पनि नपग्लिएकाले संकलकहरु कमै हुँदा सोचे जस्तो राजश्व संकलन हुन नसकेको स्थानीयवासीले बताएका छन। शिरानी चौर स्थित माला गुम्बा र डोल्पा जाने बाटोमा पर्ने काठे पुलमा खटिएका प्रहरीले चोरहरुबाट रकम खाएर चोरलाई बन प्रवेश गराएको स्थानीयले दावी गरेका छन। प्रहरीले रकम अशुलेर चोरलाई बन प्रवेश गराएको स्थानीयको आरोप रहेको छ।

तर स्थानीयवासीले लगाएको आरोपबारे सीमा प्रहरी चौकि मुगुका ईन्चार्ज पुर्णबहादुर ओलीले कुनै प्रतिक्रिया दिएनन्।

यार्सा संकलनका लागि काखे नानी सहित मुगु, डोल्फु, चिताई, कार्ती, किम्री, दाउरा, सेरोग, ताखा, खारी, पुअ, रिउस मह, माँग्रीका स्थानीयहरु हिमाल तिर गए पछि यि गाउँका विद्यालयहरु बन्द भएका छन। एक महिना हिमालमा गए पछि एक जनाले न्युनतम डेढ लाख देखि तीन लाखसम्म कमाई गर्ने भएकाले पनि अभिभावकले काखे नानी सहित बालबालिकालाई हिमालमा लिने गर्दछन। मुगुका छापा खोला , च्यार्कु, भावर खोला, टाँके , सानो कोईकी, ठुलो कोईकी , हाङ्गदाङ्ग खोला, रिमार लगायतका हिमाली पाटन क्षेत्रमा यार्सा पाईने गर्छ।

 

प्रकाशित: १२ जेष्ठ २०७५ ०८:१८ शनिबार

काखे सन्तान च्यापेरै यार्सा संकलन