समाज

दार्चुलामा भूकम्प

दार्चुला– दार्चुला सदरमुकाम तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे छ। विहीबार साँझ ८ बजेर १० मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको तवाघाट र नेपालतर्फको ब्यास गाउँपालिका वडा नं. ५ धौलाकोटको नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। यो क्षेत्र दार्चुला जिल्ला सदरमुकामबाट मात्र ५ कोषको दुरीमा रहेको छ।

भूकम्पीय जोखिमका हिसाबले  दार्चुला जिल्ला प्रदेश नम्बर ७ को  सबैभन्दा उच्च जोखिमा छ। यस क्षेत्रमा जाने अधिकांश धक्काको केन्दविन्दु दार्चुलाको सदरमुकाम नजिकै रहेको तपोवनमा हुने गरेको छ। नेपाल भारत सीमामा अवस्थित तपोवन महाकाली नदीको किनारमा अवस्थित रहेको छ। 

दार्चुला सदरमुकामबाट मात्र ३ किलोमिटर उत्तरमा रहेको तपोवनमा अहिलेसम्म भुगर्भबाट तातो गन्धक भएको पानी बहिर निस्कने गरेको छ। स्थानीय स्तरमा यसलाई धार्मिक रुपमा हेरिएको भएपनि भुगर्भविदहरुले यसलाई पुरातनकालमा ज्वालामुखी विष्फोट भएर हालसम्म लाभाको निष्काशन भइरहेको अनुमान गरेका छन्। दार्चुला र महाकाली किनारको छेउका सबै जिल्ला साथै भारतको उत्तराखण्ड राज्य यसबाट प्रत्यक्षरुपमा प्रभावित हुँदै आएको छ। यसलाई केन्द्रविन्दु मानेर वर्षमा औसत ३ वटा धक्का गइरहेको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चलामा जाने अधिकांश भूकम्प यसैलाई केन्द्रविन्दु बनाएर जाने गरेका छन्।

प्रकाशित: १० जेष्ठ २०७५ १६:१९ बिहीबार

दार्चुलामा भूकम्प