समाज

डा. दीक्षितलाई शान्ति सम्मान

काठमाडौं – नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, मानवअधिकार तथा नागरिक आन्दोलन र समाजसेवामा सक्रिय भएबापत डा. सुन्दरमणि दीक्षित सम्मानित भएका छन्।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको नवौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा शनिबार पूर्वप्रधानन्यायाधीश एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले डा. दीक्षितलाई यस वर्षको शान्ति र मानवअधिकार राष्ट्रिय सम्मान प्रदान गरेका हुन्।

दीक्षितले सम्मानले मुलुकका लागि अझै धेरै काम गर्न हौसला थपिएको बताए । उनले भने, ‘चिकित्सा क्षेत्रमामात्र होइन, मुलुकमा लोकतन्त्र स्थापना, मानवअधिकार संरक्षण, विधिको शासन, नागरिक स्वतन्त्रता र समाजसेवामा पनि काम गर्ने मौका पाएँ । आज सम्मानित हुँदा थप काम गर्ने हौसला मिलेको छ ।’ पूर्वप्रधानन्यायाधीश उपाध्यायले डा. दीक्षितलाई बधाई दिँदै मुलुकका लागि अझै थप योगदान दिन प्रेरणा मिलोस् भन्ने शुभकामना दिए।

सम्मेलनले भवानीप्रसाद खरेलको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेकपा नेताहरु भानुभक्त ढकाल र दीनानाथ शर्मा, कांग्रेसका रमेश लेखक, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल, पूर्वसभामुख दमनाथ ढुंगाना, पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले सम्मानित व्यक्तित्व डा. दीक्षितलाई बधाई दिँदै प्रतिष्ठानको सम्मेलनको सफलताको शुभकामना दिएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०१:०२ आइतबार

डा. दीक्षितलाई शान्ति सम्मान