समाज

पानी लिफ्टिङ आयोजनामा ठेकेदारको ढिलासुस्ती

खोटाङ – खोटाङको हलेसी क्षेत्रमा दूधकोसीको पानी निकाल्न थालिएको खोटाङ बृहत् पम्पिङ खानेपानी आयोजनामा निर्माण कम्पनीको ढिलासुस्ती देखिएको छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाका वडा नं. ७ मा दूधकोसीको पानी लिफ्ट गर्न सुरु गरिएको झन्डै एक अर्बको आयोजनाको ठेक्का दिवा महादेव–खिम्ती जेभीले पाएको छ। २ वर्षभित्र नदीको पानी डिकुवाको भुम्जुडाँडा र महादेवस्थानको काभ्रेडाँडामा निकाल्नेगरी २०७४ असार मसान्तमा सम्झौता भएको थियो। आयोजनाको कामको गति सन्तोषजनक नदेखिएको स्थानीयको गुनासो छ।

निर्माण कम्पनीले महादेवस्थानको काभ्रेमा कार्यालय स्थापना गरेर केही समयअघि रिजर्भ ट्यांकीका लागि जग खन्न सुरु गरे पनि हाल काम ठप्प छ। महादेवस्थानबाट निर्माणस्थल सल्लेको महादेवबेसीस्थित दूधकोसी पुग्ने सडक निर्माणको काम हालसम्म सुरु हुन सकेको छैन। दूधकोसी किनारस्थित निर्माणस्थल पुग्ने सडक कताबाट लैजाने भन्ने विषयमै निर्माण कम्पनी र सल्लेबासीबीचमा विवाद देखिएको छ।

निर्माण कम्पनीले महादेवस्थानको काभ्रेमा कार्यालय स्थापना गरेर केही समयअघि रिजर्भ ट्यांकीका लागि जग खन्न सुरु गरे पनि हाल काम ठप्प छ। महादेवस्थानबाट निर्माणस्थल सल्लेको महादेवबेसीस्थित दूधकोसी पुग्ने सडक निर्माणको काम हालसम्म सुरु हुन सकेको छैन।

खोटाङ बृहत् पम्पिङ खानेपानी योजना तथा सरसफाइ उपभोक्ता समितिको गत चैत २९ गतेको बैठकले आयोजनाको काम सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको थियो। बैठकले निर्माण कम्पनीलाई काम तीव्र गतिमा अघि बढाउन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको थियो। आयोजनामा भएको ढिलाइबारे एक साताअघि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले मन्त्रालय पुगेर खानेपानी मन्त्री विना मगर, निर्देशक तेजराज भट्टलगायतसँग छलफल गरेका थिए। निर्माण कम्पनीले कार्यालय स्थापना गरे पनि पर्याप्त जनशक्ति र उपकरण नल्याएको मेयर राईले बताए।

पानीको स्रोत नभएको, भएका स्रोत सुक्दै गएको र अन्यत्रबाट ल्याउन सम्भावना कम भएका कारण हलेसी क्षेत्रमा दूधकोसी नदीको पानी तान्ने विकल्प अघि सारिएको हो। खानेपानीको चर्को समस्या भएका कारण २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाभित्रका महादेवस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडाका ३ हजार ७ सय ५६ घरधुरीलाई पानी उलपब्ध गराउने लक्ष्यका साथ पम्पिङ आयोजना अघि बढाइएको हो। करिब ९१ करोड ८५ हजार रुपैयाँ लागतमा दूधकोसीका दुई स्थानबाट महादेवस्थानको काभ्रेडाँडा र डिकुवाको भुम्जुडाँडामा पानी निकालेर वितरण गर्ने लक्ष्य राखिएको छ। महादेवबेसीबाट एक हजार तीन सय ३५ मिटर उचाइमा रहेको काभ्रेडाँडामा निकालिने नदीको पानी महादेवस्थान, दुर्छिम, मंगलटार र बडहरेका लागि तथा बाहुनीडाँडाको लुलिमाबाट एक हजार तीन सय चार मिटर उचाइमा रहेको भुम्जुडाँडामा निकालिने पानी च्यास्मीटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि वितरण गरिने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ । नदीको पानी डाँडामा निकाल्न २०७२ फागुनमा प्रक्रिया सुरु गरिएको थियो।

यस आयोजनाअन्तर्गत दूधकोसीबाट दैनिक ६ लाख लिटर पानी तान्ने तयारी गरिएको छ। काभ्रे र भुम्जुमा चारचार लाख लिटर क्षमताका ट्यांकीमा पानी संकलन गरेर गाउँमा वितरण गरिने कार्यालयका डिई विजयकुमार ठाकुरले बताए। एउटा लाइन बिग्रेको समयमा अर्को लाइन चलाउन समानान्तर मोटर, पाइप, ट्यांकी निर्माण गर्नेगरी आयोजनाको काम अघि बढाइएको हो। आयोजनाका लागि उपभोक्ताबाट प्रतिघर २ हजार ५ सयका दरले मर्मत कोष उठाउने र परिचयपत्र बाँड्ने काम भइरहेको उपभोक्ता समितिले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०१:५१ शुक्रबार

पानी लिफ्टिङ आयोजनामा ठेकेदारको ढिलासुस्ती