समाज

नयाँ शक्तिका डोल्पा इन्चार्ज बुढा पक्राउ

डोल्पा – नयाँ शक्ति नेपालका डोल्पा संयोजक पुष्प बुढा पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–२ घर भएका ३९ वर्षीय बुढालाई प्रहरीले त्रिपुराकोट बगर बजारबाट मंगलबार बिहान पक्राउ गरेको हो।

प्रहरी स्कटिङ्ग टोलीमाथि विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार ठूलीभेरी नगरपालिका–९ मा पर्ने भेत्तीडाडोमा गरेको आक्रमणमा संलग्नता रहेको भन्ने सुराकीको आधारमा नयाँ शक्तिका जिल्ला इन्चार्ज बुढालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

बाहिरी रुपमा नयाँ शक्ति नेपालको जिल्ला इन्चार्ज बताउदै हिडिरहे पनि बुढाको नेकपा कार्यकर्तासँग संलग्न रहेको प्रहरीले जनाएको छ। उनी चन्दा असुली लगायत अन्य योजनामा पनि भूमिगत योजनाकारको रुपमा रहेको सुराकीको आधारमा पाइएकोले पक्राउ गरी अनुन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए।

पक्राउ परेका बुढालाई प्रहरी हिरासतमा राखिएको र उनलाई छाड्ने या नछाड्ने भन्ने कुरा अनुसन्धान पछि मात्र थाहा हुने प्रनाउ शर्माले बताए।

प्रहरी स्कटिङ्ग टोलीमाथि आक्रमण गर्ने मध्येका दुई जना नेकपाका कार्यकर्ता सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेतकै अवलचिङ्गका सन्तोष खड्कालाई सोमबार साँझनै प्रहरीले पक्राउ गरिसकेको छ।

प्रकाशित: १ जेष्ठ २०७५ १०:४४ मंगलबार

शक्तिका डोल्पा इन्चार्ज बुढा पक्राउ