समाज

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

आँधीखोलाबाट माछा संकलन गर्दै स्थानीय । तस्बिर: मोहन गुरुङ/नागरिक

स्याङ्जा–आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ । एमोनियायुक्त सुलीले आँधीखोलाका जलचर सोत्तर भएको समाचार यसअघि नागरिकन्यूजले सार्वजनिक गरेको थियो।

सुलीको एमोनियाले गर्दा जलचर मरेको पुष्टि मिर्मीस्थित मत्स्य विकास केन्द्रले पुष्टि गरिसक्दा पनि फोहोरमैला व्यवस्थापन शिर्षकमा २० लाख रुपैया पाएपछि गल्याङ नगरपालिका कार्वाही प्रक्रियाबाट पछि हटेको छ । मरेका माछाको व्यवस्थापन, पानीको दुर्गन्ध कम गर्न, मानवीय क्षति हुन नदिन र आँधीखोलाको फोहोर व्यवस्थापनका लागि २० लाख रुपैया माग गर्ने निर्णय नगरकार्यपालिकाको वैठकबाट भएको वडा नम्बर ७ का वडा अध्यक्ष रामवीर गुरुङले बताए । ‘नगरपालिकाको राजश्व खातामा खिलुङ कालिका फर्मबाट २० लाख रुपैया आइसकेको छ,’ उनले भने।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कमजोर ऐन नियमका कारण आफुले कार्वाही गर्न नसकेको बताए। ‘कार्वाही लागि ऐन कमजोर छ,’ उनले भने, ‘फोहोरमैला ऐन अनुसार कार्वाही गरेको हुँ ।’ जलचर संरक्षण ऐन–२०१७ अनुसार कार्वाही गर्ने अधिकार आफुलाई नभएको भन्दै कार्वाही गर्ने काम प्रमुख जिल्ला अधिकारीको भएको बताए।

‘प्रतिवेदन आएको छैन कार्वाही कसरी गरुँ’ प्रमुख जिल्ला अधिकारी कोशहरि निरौंलाले भने । उनी पनि प्रतिवेदनको आधारमा जलचर संरक्षण ऐन–२०१७ अनुसार कार्वाही गर्ने सुरमा छन्। सुली फाल्न प्रयोग गरिएका स्काभेटर सञ्चालकले लगिसकेका छन् । खोलामा सुली मिसाउने आरोपीहरुलाई अहिलेसम्म कुनै कारवाही भएको छैन।

प्रकाशित: ३० वैशाख २०७५ १३:३५ आइतबार

पैसा लिएर दोषिलाई उन्मुक्ति मेयर भन्छन् कारवाही गर्ने अधिकार छैन