समाज

मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी

इनरुवा – सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन्। 

विभिन्न कारणले जेल जीवन व्यतित गरिरहेका कैदीबन्दी जेलभित्रै मुढा बनाएर आय आर्जन गर्दैआएका छन्। जेलका चौकीदार खड्ग राईका अनुसार कैदीबन्दीले मुढा बनाएर मासिक ९ हजारदेखि १२ हजारसम्म आम्दानी गर्दै आएका छन्। 

“कैदीबन्दीले मासिक पाँच हजारभन्दा बढी मुढा निर्माण गरी बिक्री गर्ने गरेका छन्” राईले भने। मुढा बनाउन आवश्यक पर्ने धागो, बाँस, साइकलको टायर, डोरीलगायत सामग्री जुटाउन कारागार प्रशासनले सहयोग गर्दैआएको छ। कैदीबन्दीको कारागार जीवनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मुढा बनाउन सामग्री जुटाएको उनी बताउछन्। 

कैदीबन्दीले समूहमा काम गरी समूहमै आम्दानीसमेत गर्ने गरेका छन्। आम्दानी भागबण्डा गरी कामको आधारमा लिने गरेको चौकीदार प्रेम लावतीले बताए। कैदीबन्दीले समूहमै टायर काट्ने, बाँसको टुक्रा बनाउने र डोरी तथा धागो लगाउने काम गर्नेगरेका छन्। 

कैदीबन्दीले मुढासँगै बाँसको रचनात्मक फूल, फुलदानी र विभिन्न खेलौना बनाई आम्दानी गरिरहेका छन्। उनीहरूले बाँसको कलात्मक हस्तकलाका सामग्री तयार गर्ने गरेका छन्। कच्चा पदार्थ हप्तामा एक पटक ल्याउने गरेको कारागारका जेलर गणेश अधिकारीले बताए। कैदीबन्दीले २०० को लगानीमा एउटा मुढा निर्माण गरी रु २८० सम्ममा बिक्री गर्ने गरेका छन्। 

“बिक्री गर्न बजारको समस्या छैन,” अधिकारीले भने। क्षेत्रीय कारागार झुम्कामा अहिले एक हजार ४३४ कैदीबन्दी रहेका छन्।  (रासस)

प्रकाशित: २८ वैशाख २०७५ ०८:५० शुक्रबार

मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी