समाज

गोली लागेर शिकारीकै मृत्यु

सर्लाही– वन्यजन्तुको शिकार खेल्न गएका एक शिकारीको गोली लागेर मृत्यु भएको छ। 

जिल्लाको ईश्वरपुर नगरपालिका–१२, घारीबथानस्थित दोङखोरिया टोल निवासी ३६ वर्षीय जीतबहादुर लोको भरुवा बन्दुकको गोलीले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। सँगै गएका अन्य साथीले वन्यजन्तुलाई प्रहार गरेको गोली लोलाई लागेको हुन सक्ने अनुमान गरिएको छ। 

गाउँदेखि उत्तर चुरे जंगल क्षेत्रमा विहिबार बिहान पौने ९ बजेतिर बन्दुक पड्केको आवाज सुनिएको र लगतै एउटा घाइते बँदेल समेत देखिएको स्थानीय बासिन्दाबाट जानकारी आएको ईलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए। प्रहरीले घटनास्थलबाट एकथान भरुवा बन्दुक समेत बरामद् गरेको छ। मृतकको शव पोष्टमार्टमका लागि दिउँसो सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईएको छ।

‘सँगै गएका अन्य साथीहरुले प्रहार गरेको भरुवा गोलीले लागेको हुन सक्ने अनुमानसहित अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं’, पौडेलले भने, ‘वन क्षेत्रमा घटना भएकाले तत्काल एकिन हुन सकेको छैन्।’

प्रकाशित: २७ वैशाख २०७५ १५:३९ बिहीबार

गोली लागेर शिकारीकै मृत्यु