समाज

हटियाका लागि फलामे टहरो निर्माण

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको पञ्चरदोबाटोमा लाग्ने साप्ताहिक हटियाका लागि  ४२ वटा फलामे टहरो निर्माण गरिएको छ ।

हालसम्म शुक्रबारे हटियामा प्रयोग हुँदै आएको बाँसको चित्राले बनेको टहरो विस्थापित गर्दै फलामे टहरा निर्माण गरिएको हो । ६४ वटा छाप्रो प्रयोग हुँदै आएको हटियामा ७० लाखको खर्चमा ४२ वटा पक्की टहरा निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । 

बिजयखर्क, राजापानी, बुईपा, नुनथला लगायतका वडाको प्रमुख हटियाकारुपमा रहेको पञ्चरदोबाटो बजारको व्यवस्थापनका लागि फलामे टहरा निर्माण गरिएको हो । हटियाका लागि आवश्यक टहरा क्रमशः निर्माण गरिने मेयर रिजालले बताए । ‘६४ वटा छाप्रोलाई हटाएर ४२ वटा फलामे छाप्रो राखिएको छ,’ मेयर रिजालले भने, ‘कम्तीमा पुरानो छाप्रो बराबरको संख्यामा पक्की छाप्रो निर्माण गर्ने छौँ । यसका लाथि थप बजेट व्यवस्था गर्ने छौँ ।’ 

नगरपालिकाले १५ वटै वडालाई काठे पोलमुक्त बनाउने अभियान सुरु गरिएको, अस्पतालका लागि छुट्टै ट्रान्सफर्मर राखिएको, अस्पतालमै ब्लड बैंक शिलान्यास गरिएको, वृहत शैक्षिक सेमिनार सञ्चालन गरिएको, नगरभित्रका माबिमा विद्युतीय हाजिरीको व्यवस्था लगायतका कार्यक्रम अघि सारिएको मेयर रिजालले बताए । नगरआवधिक योजनाको काम अन्तिम चरणमा पुगेको, ५० प्रतिशत अनुदानमा ३ सय प्लाष्टिक टनेल वितरण गरिएको, कृषि पकेट क्षेत्र निर्धारण लगायतका काम भएको जानकारी दिइएको छ । 

प्रकाशित: २७ वैशाख २०७५ ०५:२५ बिहीबार

हटियाका लागि फलामे टहरो निर्माण