समाज

थरीथरीका ‘प्रभुका अनुयायी’

दाङ- लीलबहादुर घर्ती लमहीस्थित प्रशंसा चर्चका पास्टर हुन् । उनै पास्टरको लमहीस्थित घरमा केही दिनअघि ‘प्रभुका अनुयायी’ को एक हुल पुग्यो । उनीहरु सबै विदेशी थिए । घरभित्र पस्न खोजेका उनीहरुलाई घर्तीले लखेटे । प्रभुका अनुयायीलाई किन लखेटियो ? घर्तीले भने, ‘उनीहरु प्रभुको नाममा हामीलाई आक्रमण गर्न आएका गलत व्यक्ति थिए।’

केही समयअघि लमही नगरपालिकाको नर्ती गाउँमा प्रभुका अनुयायीले प्रशिक्षणात्मक कार्यक्रम गर्दै थिए । यो सुइँको पाउनासाथ घर्ती त्यसतर्फ लागे । उनीलगायतले त्यो समूहलाई त्यहाँबाट लखेटे । ‘बाइबलको गलत प्रचार गरेर हाम्रो बदनाम गर्ने काम भइरहेको छ’, उनले भने।

लमहीमा ‘प्रभु राज’ रहेको उनले स्विकार गरे । ‘तर त्यो प्रभु राज्यका शासक आयातित हुन् । उनीहरुसँग हाम्रो सम्बन्ध छैन’, उनले स्पष्टीकरण दिए । घर्ती इसाई धर्मावलम्बी केहीले लमहीकी गंगा खड्काको घरमा पिसाब गरिदिएको घटनाका साक्षी हुन् । क्रिस्चियन धर्मका अनुयायीको रुपमा आएका जापानी नागरिकको समूहले गंगाको घरमा दुव्र्यवहार गरेको उनले दाबी गरे ।

‘त्यो घटना थाहा पाएपछि म पनि पुगेको थिएँ । मैले नै पीडक पक्ष र पीडित पक्षलाई राखेर कुरा मिलाइदिएको हुँ’, उनले भने, ‘बाइबलको गलत प्रयोग गरेर बलजफ्ती गर्ने गिरोह लमहीमा हावी भएको छ ।’ लमही कोलही गाउँका मनोज चौधरीलाई जबरजस्ती क्रिस्चियन बनाउने पनि विदेशी नै रहेको उनले दाबी गरे ।लमहीमा तीन थरी प्रभुका अनुयायी सक्रिय छन् । यी समूहबीच एकमत देखिन्न, बरु एकले अर्कोलाई सिध्याउने दाउमा देखिन्छन् । यी तीनै समूहले आआफूलाई प्रभुका सच्चा अनुयायी दाबी गर्दै आएका छन् । एउटा समूह जापानी नागरिकको छ । यो समूहले यशुलाई परमेश्वर मान्दैन । यो समूहका लागि परमेश्वर भनेको ‘यहोबा’ मात्रै हुन् । यो समूहले आफ्नो प्रार्थना थलोलाई यहोवा राज्यको नामकरण गरेको हुन्छ ।

अर्को समूह कोरियनको छ । यो समूहले ‘आङ्साङह्ुवा’ नाम गरेका एक कोरियन नागरिकलाई परमेश्वर मान्ने गरेको इसाई धर्मका जानकार बताउँछन् । यसले आफ्नो प्रार्थना थलोलाई ‘सिओन’ नामकरण गरेको हुन्छ । अर्को समूहमा स्थानीयको बाहुल्य छ । यो समूहले आफूहरुलाई वास्तविक क्रिस्चियन दाबी गर्दै विदेशी समूहलाई झूटो प्रचार गरेको आरोप लगाउँदै आएको छ । यो समूहले प्रार्थना गर्ने थलोलाई चर्च नामकरण गरिएको हुन्छ।

यी तीनवटै समूहले एकले अर्को समूहका अनुयायीलाई आफूतिर कसरी आकर्षित गर्ने भन्ने प्रतिस्पर्धा चलेको घर्ती बताउँछन् । उनका अनुसार जापानी समूहले पूर्व देउखुरीबाट झन्डै तीन दर्जन अनुयायीलाई आफ्नो समूहमा प्रवेश गराएको छ भने अन्य स्थानमा पनि फाट्टफुट्ट अनुयायीलाई तानिरहेको छ । ‘उनीहरुको पहिलो प्रहार हामीमाथि नै भइरहेको छ । क्रिस्चियनमाथि लगाइएका आरोपले पनि हामीलाई नै बढी असर गरिरहेको छ’, उनले भने ।

स्थानीयका अनुसार लमहीमा मूलतः जापानी र कोरियन नागरिक प्रभु राजमा बढी सक्रिय देखिन्छन् । आफ्नो धर्मको प्रचारका लागि उनिहरु खुलेआम बस्तीबस्तीमा प्रचार सामग्री वितरण गर्दै हिँडिरहेका छन् । बलजफ्ती धर्मान्तर गराउने काममा समेत यो समूह संलग्न देखिन्छ । ‘उनीहरुले खुलेआम धर्म प्रचार त गरिरहेकै छन्, उत्तिकै आक्रामक तबरले समेत अघि बढिरहेका छन्’, घर्तीले भने, ‘उनीहरुविरुद्ध आवाज उठायो भने आक्रमण नै नहोला भन्न पनि सकिन्न।’

यी विदेशी अनुयायीसँग आफूहरुको कुनै सम्बन्ध नरहेको जिल्लामा क्रियाशील ख्रिस्टियन समाजको दाबी छ । ‘प्रभुको नाममा अहिले विदेशी निकै हाबी भइरहेका छन् तर उनीहरुलगायत सबै क्रिस्चियनलाई एउटै नजरले हेरिन्छ’, जिल्ला ख्रिस्चियन समाजका अध्यक्ष जीवन गुरुङले भने, ‘प्रभुको प्रचारका लागि जति पनि विदेशी नागरिक आएका छन्, उनीहरु आफ्नो स्वार्थका लागि आएका हुन्, उनीहरुसँग हाम्रो समाजको कुनै सम्बन्ध छैन ।’

 

प्रकाशित: २७ वैशाख २०७५ ०१:३९ बिहीबार

थरीथरीका प्रभुका अनुयायी