समाज

सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

राजविराज – सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ। 

करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ। 

पुरुषतर्फको ‘ए ब्लक’ मा १८१ जना र ‘बि ब्लक’ मा ९६ जना पुरुष र महिला ब्लकमा एक बालिकासहित १७ जना कैदीबन्दी राखिएको छ। 

एकसय २५ पुरुष र १० महिला गरी कूल १३५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने भएकाले पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको कैदीबन्दीले गुनासो गरेका छन्। 

२००८ सालमा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण पनि कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ। 

माटो र ढुंगाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कन सक्ने खतरासमेत रहेको जेलर सत्यनारायण यादवले बताए। 

राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेका कारण गर्मी महिनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन्। 

कारागारको नाममा रहेको पाँच बिगाहाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब तीन कट्ठा जग्गा अतिक्रमणमा परेको कारागारका जेलर यादवको भनाइ रहेको छ। 

विद्युत् हुकिङ गर्ने १२ जना पक्राउ 

यसैबीच, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले सप्तरी जिल्लाका विभिन्न ठाउँबाट विद्युत हुकिङ गर्ने एक दर्जन व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ। 

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार दैनिक विद्युत् हुकिङ नियन्त्रण अभियान अन्तर्गत मंगलबार मात्र १२ जनालाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ। 

उनीहरुका साथबाट पानी तान्ने छवटा मोटर, दुईवटा पंखा, एउटा एलइडी टिभी बरामद गरिएको उनले बताए। पक्राउ परेकालाई विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएर छाडिएको प्रमुख साहले बताए। 

प्रकाशित: २६ वैशाख २०७५ ०४:४१ बुधबार

सप्तरी कारागारमा दोब्बर कैदीबन्दी