समाज

पुल निर्माणमा ढिलासुस्तीले हद नाघ्यो, ठेकेदारको चौतर्फी बिरोध

अलपत्र परेको साप्सु खोलाको पुलको जग । तस्बिर : नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणमा भएको ढिलासुस्तीको चौतर्फी बिरोध सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुल निर्माणमा भइरहेको ठेकेदारको ढिलासुस्तीका बिषयमा चौतर्फी बिरोध र आलोचना सुरु भएको हो। २०७३ मंसिर २२ गते तत्कालिन सांसद (हाल प्रतिनिधिसभा सदस्य) बिशाल भट्टराईले शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र बनेको भन्दै नेकपा माले खोटाङले बिरोध जनाएको छ। 

सम्झौता अवधिमा पुल निर्माणको काम पूरा नगरेर ठेकेदारले जनताको सेवा सुविधामाथि खेलबाड गरेको भन्दै नेकपा मालेले मंगलबार जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। खोटाङको संबृद्धिसँग जोडिएको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङबजार सडक उपयोगमा कठिनाई भइरहेको नेकपा मालेका पोलिटव्यूरो सदस्य एबं पुर्वसांसद कुलप्रसाद फुयाँलले बताए। ‘पुल निर्माणमा भएको यस्तो लापरबाहीपूर्ण कार्यमा जिल्ला समन्वय समितिको भूमीकामाथि नै प्रश्न उठेको छ,’ नेकपा मालेको ज्ञापनपत्रमा भनिएको छ, ‘सबै जिल्लाबासीकोतर्फबाट कामको अनुगमन होस्। ढिलासुस्ती गर्ने ठेकेदारको जमानत जफत होस् भनी ध्यानाकर्षण गराउँदछौँ।’ 

१८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीले २०७३ साल बैसाखमा जिम्मा लिएको पुलको म्याद गत कार्तिकमै सकिएको छ। बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (-याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोग बिहिन बनेको छ। बाटोमा पर्ने साप्सु खोलामा पक्की पुल नहुँदा साकेला गाउँपालिकामा बैंक स्थापना गर्न कठिनाई भएको छ। 

प्रकाशित: २५ वैशाख २०७५ १५:५९ मंगलबार

पुल निर्माणमा ढिलासुस्तीले हद नाघ्यो ठेकेदारको चौतर्फी बिरोध