समाज

हिमाल र हरियालीले पर्यटकको मन लोभ्याउँदै ह्याङ्जाकोट होमस्टे

बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज। भरखर रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल पानी। आँखैअगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृश्यसँगै वरपर हरियाली जङ्गल। त्यहाँ पुग्ने जोकोहीको मन आनन्दित नहुने त कुरै भएन।  

हिमालको चिसो हावाले शरीर सितल बनाउने। त्यसमा यहाँको शान्त वातावरण, थप मनमोहक छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ ह्याङ्जाकोट सामुदायिक ‘होमस्टे’ (घरबास) का विशेषता हुन् यी। त्यसमा यहाँ पुग्ने स्वदेशी र विदेशी पाहुनाको स्वागतमा पञ्चैबाजासहित फूलमाला लिएर परसम्म पुग्ने सञ्चालक र गाउँवासीको शैली थप हेर्नलायक छ।  

पोखरा महानगरपालिका–१ को सिमपानीदेखि हेम्जाको याम्दी, मिलनचोक, मेलबोट हुँदै माछापुच्छ्रे गाउँपालिकाको धितालबाट तीन किलोमिटर अगाडि बढेपछि ह्याङ्जाकोट पुगिन्छ। पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यो ठाउँमा अधिकांश गुरुङ समुदायको बसोबास छ। ५० घर रहेको बस्तीका १२ घरमा ८० जना पाहुना अट्ने गरी होमस्टे सञ्चालनमा छ।  

विसं २०६४ बाट सञ्चालनमा आएको यो सामुदायिक होमस्टे विसं २०७२ मा पर्यटन मन्त्रालयद्वारा उत्कृष्ट गाउँ पर्यटन गन्तव्य घोषित भएको थियो। त्यसपछि यहाँको महत्त्व थप बढेको छ।

ह्याङ्जाकोटबाट कुमारी माछापुच्छ्रेसहित अन्नपूर्ण, लमजुङलगायत हिमाल मात्र होइन, छिमेकी गाउँ ल्वाङको चियाबारी पनि यहाँबाट सजिलै देखिन्छ। गाउँबाट माछाको पुच्छर आकारको माछापुच्छ्रे नजिकै देखिनुका साथै यो गाउँ ‘माछापुच्छ्रे मोडल ट्रेक’ मा पर्ने भएकाले पर्यटकीय मौसममा विदेशी पर्यटकको भीड लाग्छ।

होमस्टेका अध्यक्ष ईश्वर गुरुङले आन्तरिक पर्यटकले ढिँडो, लोकल कुखुरा, रक्सीलगायत खाना मन पराउने र साँझ सांस्कृतिक कार्यक्रममा रमाएर नाच्ने गरेको बताए। उनका अनुसार यहाँ रु एक हजार मूल्यको ‘प्याकेज’ बनाइएको छ। त्यसमा स्वागतसत्कार, स्थानीय रैथाने बाली कोदो, गाउँमा उत्पादित साग, आलु, लोकल कुखुरा, खाजा, रातको खाना, एक रातको बासलगायत सुविधा छन्।

स्थानीय पर्यटन व्यवसायी हर्क गुरुङले गाउँमा पर्यटक बढेसँगै ठूला होटल निर्माण हुने क्रम बढेको बताए। ह्याङ्जाकोटदेखि तीन किमी पूर्वको धिताल गाउँमा अर्बौं खर्चेर दुई होटल निर्माण हुन लागेको उनले बताए। ‘ह्याङ्जाकोटले होमस्टेको विकास गर्दै अगाडि बढ्न खोजेको छ। यसले खुसी नै दिएको छ, तर तीन सय वर्ष पुरानो इतिहास बोकेको यो गाउँका अधिकांश परिवार पोखरा र काठमाडौंमा बसाइँ सर्दा गाउँ खाली हुने चिन्ता छ,’ गुरुङले भने।

ह्याङ्जाकोट सामुदायिक होमस्टे १० नं का सञ्चालक सुन्दर गुरुङले वर्षातको समयमा पर्यटक आवागमन केही कम भए पनि अन्य मौसममा भरिभराउ हुने गरेको बताए। गाउँमा पानी, बत्ती र सञ्चारको सुविधा पुगेकाले हाल पर्यटक आनन्दले बस्ने गरेको उनले बताए।

होमस्टे सञ्चालक कुमार गुरुङले सुरुमा २० घरमा सञ्चालित घरबास कार्यक्रम अधिकांश परिवार बसाइँ सरेर गएकाले हाल १२ घरमा सीमित भएको बताए। उनले भने, ‘रमणीय गाउँ भए पनि यहाँबाट बसाइँ सरेर जाने क्रम रोकिएको छैन। यसलाई रोक्न सके गाउँको रौनक अर्कै हुन्थ्यो।’ रासस

प्रकाशित: २२ असार २०८२ ०७:५४ आइतबार

#NagarikNews #NepaliNews