समाज

नदीमा बेपत्ता बालबालिका अझै भेटिएनन्

खोटाङ – सुनकोसीमा बेपत्ता भएका खोटाङ सुन्तलेका तीन बालबालिकाको खोजी कार्य जारी छ। बाख्रा चराउन जंगलमा गएकाबेला सुनकोसीमा बेपत्ता भएका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी अझै भेटिएका छैनन्। अहिले पनि नदी किनार र आसपासमा बेपत्ता बालबालिकाको खोजी भइरहेको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले बताए। ‘नदीको तल–तलसम्म पुगेर खोज्दा पनि बालबालिका भेटिएको छैन,’ गाउँपालिका प्रमुख बञ्जराले भने, ‘शोकाकुल परिवारलाई सोमबार दिनभर भेटिएन भने काजक्रिया गर्नु भनेको छु।’ 

सुनकोसी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्भी भएपछि पौडी खेल्नेक्रममा शनिबार बेपत्ता भएका हुन्। एकैसाथ तीन बालबालिका बेपत्ता भएपछि सिंगो गाउँ शोकमा डुबेको छ। उदयपुरतर्फको साउनेका स्थानीयले बालबालिकालाई पौडी खेल्नेक्रममा नदीले बगाएको देखेको बताएपछि उनीहरु नदीमै बेपत्ता भएको थाहा भएको स्थानीयले बताएका छन्। खोजतलास गर्दा बालबालिका नभेटेपछि आफन्तले आइतबार साँझ बेपत्ताको खोजीका लागि प्रहरीलाई उजुरी दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

बाख्रा चराउन गएका समयमा बेपत्ता भएका बालबालिकाको खोजीका लागि ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घटनास्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २४ वैशाख २०७५ ०४:२२ सोमबार

नदीमा बेपत्ता बालबालिका भेटिएनन्