समाज

उपल्लो मुस्ताङमा सेटलाइट कृषि फार्म स्थापना

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल र तरकारीलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो।

जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले बताए। बागवानी केन्द्र मार्फाको शाखा फार्म स्थापनाका लागि आठ सय एक रोपनी जग्गा सरकारको नाममा दर्ज भइसकेको र अब केही महिनाभित्र बागवानी केन्द्रको नाममा लालपुर्जा प्राप्त गर्ने प्रक्रिया टुङ्गिने उनले बताए।

जलवायु परिवर्तनका कारण स्याउलगायत शीतोष्ण फलफूल र सागसब्जी विस्तारै उचाइतिर फल्ने क्रम बढेकाले उपल्लो मुस्ताङको घमीमा सेटलाइट फार्म स्थापना गर्नुपर्ने अवस्था आएको आत्रेयले उल्लेख गरे। मुस्ताङको तल्लो भेकमा उत्पादन हुने स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, अङ्गुरलगायत फलफूल जलवायु परिवर्तनका कारण माथि लेकतिर उत्पादन हुन थालेका छन्। यी शीतोष्ण फलफूल र सागसब्जीलाई जोगाउन उपल्लो मुस्ताङमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो।

उपल्लो मुस्ताङमा केन्द्रको शाखा विस्तार भएमा किसानलाई ठूलो सहयोग पुग्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए। 'उपल्लो मुस्ताङका किसानलाई फलफूल र तरकारीको बीउ र बिरुवा ढुवानी गर्न निकै समस्या छ, ढुवानी खर्च पनि महँगो छ,' उनले भने, 'माथि नै बागवानीको शाखा स्थापना भएपछि उपल्लो भेकका किसानले सजिलै बिरुवा पाउँछन्, यो हाम्रा लागि अवसर र खुसीको कुरा हो।' फार्म स्थापनाका लागि पालिका र स्थानीय समुदायले जग्गा प्राप्तिमा निरन्तर सहजीकरण गरेको उनले बताए।

जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिएपछि कार्यालय स्थापना र फार्म विस्तार गर्ने प्रक्रिया अघि बढ्ने बागवानी विकास केन्द्रले जनाएको छ। घमीमा फार्मका लागि तीनवटा कित्ता जग्गा छुट्याइएको र त्यहाँ विभिन्न फलफूल र तरकारीका बीउ र बिरुवा उत्पादन गर्न ब्लक निर्माण गरिने जनाइएको छ। 

केन्द्रले हरेक वर्ष पुस र माघमा किसानलाई स्याउलगायत फलफूलका बिरुवा वितरण गर्छ। तर त्यस समय उपल्लो मुस्ताङका किसान जाडो छल्न बेँसी झर्ने भएकाले चैत, वैशाखमा मात्र स्याउका बिरुवा रोपिन्छ। यो समस्यालाई समाधान गर्न उपल्लो मुस्ताङमा स्थापना हुने सेटलाइट फार्मले योगदान पुर्याउने केन्द्रको भनाइ छ।

उपल्लो मुस्ताङमा कृषि क्षेत्र विस्तारको प्रचुर सम्भावना छ। मुस्ताङलाई सयौँ वर्षसम्म स्याउको राजधानी बनाइराख्न फार्मले किसानलाई उत्प्रेरित गर्ने विश्वास केन्द्रले लिएको छ।

३०–३५ वर्षअघि मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते र कुञ्जो क्षेत्रमा स्याउ राम्रो उत्पादन हुन्थ्यो, तर जलवायु परिवर्तनका कारण अहिले ती स्थानमा स्याउखेती बन्द भएको वर्षौँ भइसकेको छ। बढ्दो तापमानले ती स्थानमा स्याउको सट्टा किबीफल उत्पादन हुन थालेको छ।

मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र २०२३ सालमा स्थापना भएको हो। फार्म स्थापनापछि मुस्ताङमा व्यावसायिक स्याउखेती सुरु भएको केन्द्रको भनाइ छ। मार्फाको केन्द्रले स्थानीय किसानलाई फलफूल र तरकारीका गुणस्तरीय बीउ र बिरुवा उत्पादन गरी बिक्री गर्छ। 

हाल केन्द्रसँग कुल एक सय ९६ रोपनी जग्गा छ, जसमा मार्फामा एक सय ७५ रोपनी, घाँसामा २० रोपनी र जोमसोममा एक रोपनी जग्गा छ। केन्द्रले मार्फामा चारवटा ब्लकमा फलफूलका बिरुवा, तरकारी र सागसब्जीका बीउ उत्पादन गरिरहेको छ। रासस

प्रकाशित: ६ असार २०८२ ०६:३५ शुक्रबार

#NagarikNews #NepaliNews