समाज

बिप्लब बन्दः गाउँका सडक ठप्प, सहर बजार खुल्लमखुल्ला

उदयपुर – दुई–तीन वर्षअघिसम्म नेपालमा बन्द हड्ताल र चक्काजाम सहर केन्द्रित थियो। दिनहुँ हुने बन्द, हड्ताल, चक्काजाम, मसाल जुलुस र टायर बालेको धुँवाले सहरका मान्छे वाक्क दिक्क हुन्थे। एकठाउँबाट अर्काे ठाउँ हिडेका लामो दूरीका यात्रु बन्दमा फसेर गाडी कुर्दै एकै ठाउँ २–३ दिनसम्म बस्नुपर्ने अवस्था थियो। मध्यम दूरीका यात्रुहरू रिक्सा चढेर गन्तव्य पहिल्याउनु पथ्र्यो भने छोटा दूरीकाहरू कतिपयले पैदलै मार्नुपर्ने बाध्यता थियो।

अहिले पनि बन्दको क्रम जारी छ। पहिलेजस्तो दिनहुँ बन्द नभए पनि बेलाबेलामा असन्तुष्ट समूहको बन्द खेप्न जनता बाध्य छन्। तर, अहिलेको बन्दको प्रवृत्ति पहिलेजस्तै भएपनि प्रकृति (दृष्य) भने बदलिएको छ। अहिलेको बन्दमा पहिलेको तुनामा ठिक उल्टो सहर बेफिक्री छ। यातायात व्यवसायीकै बन्दमाबाहेक अन्य बन्दको असर सहरीयाहरूले भोग्नुपरेको छैन अहिले। पहिले पहिले सहरीयाले भोग्नुपर्ने बन्दको खप्की अहिले गाउँलेको जिम्मामा सरेको छ। शनिबारको बन्दको असर पनि यस्तै छ, जसको प्रभाव सहर बजारमा होइन, पहाड र गाउँमा परेको छ। शुक्रबार यातायात व्यवसायी समितिको बन्दमा गाउँ सहर दुवैतिर प्रभाव परेको थियो। 

नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको शनिबारको बन्दको प्रभाव यस्तै गरी सहरमा परेको छैन। नेकपाको बन्दले सदरमुकाम गाईघाट, कटारी, बेलटारजस्ता चलखेलका बजारक्षेत्रमा कुनै असर गरेको देखिएको छैन। जव की पहाडी भेगका सबै सडकहरू भने बन्दले ठप्प छन्। सधैजसो भिडभाडका साथ यातायात नचले पनि बन्दले उदयपुरका बजारक्षेत्रलाई कुनै असर नपारेको हिमाली यातायात व्यवसायी संघ बुकिङ काउन्टरले जनाएको छ। अघिल्लो दिन व्यवसायीको बन्दका कारण यात्रा रोकिएको हुनाले पनि शनिबारको बन्दको प्रभाव कम भएको हुनसक्छ। गाईघाट र कटारीदेखि लामो तथा छोटो दूरीमा चल्ने जिल्लान्तर सबै रुटका गाडी नियमित चल्दै गरेको संघले जनाएको छ।

तर, उता जिल्लाको आन्तरिक यातायात भने लगभग ठप्प छ। खासगरी सदरमुकामदेखि पहाडीभेग जोडिएका ग्रामीण सडकमा कुनै यातायात चलेका छैनन्। गाईघाट–साउने–रौता, गाईघाट–फोक्सिन्टार–खोटाङ, गाईघाट–मुर्कुची, मुर्कुची–पुवारे–माझखर्क–लिमचुङबुङ, मुर्कची–भुट्टार, गाईघाट–नेपालटार–कटारी, गाईघाट–आँपटार–बलम्ता, गाईघाट–रसुवा–जाँते चल्ने सबै रुटका बस तथा बोलेरो जिप थन्किएका छन्। गाईघाटबाट मुर्कुची, नेपालटार, साउने, रौता, फोक्सिन्टार, बलम्ता र खोटाङसम्म चल्ने रुटमा ठूला यात्रुबाहक बस चल्ने गरेका छन्। बाँकी पहाडी रुटका सडकमा भने बोलेरो जिपले सेवा दिने गरेका छन्। सामान ढुवानी गर्ने ट्याक्टर त पहाडी भेगका सबैजसो गाउँपालिका र वडाहरुमा चल्ने गरेका थिए। 

बन्दले पहाडी भेगमा चल्ने कुनै रुटका बस, जिप र ट्याक्टर चलेको नदेखिएको स्थानीय बताउँछन्। शनिबार बिहानैदेखि कुनै जिप र ट्याक्टर देखा नपरेको जाँतेका व्यापारी प्रेमबहादुर राईले बताए। कच्ची ट्«याक जोडिएको जाँतेमा पश्चिमतर्फ मुर्कुची–पुँवारे–माझखर्क हँदै जीप र ट्याक्टर आउने गरेको छ भने दक्षिणतर्फ गाईघाट–साउने–रसुवा–लाफागाउँ हुँदै ट्याक्टर र जीप आउने गरेको छ। तर, बन्दको प्रभावले दुवै रुटमा कुनै सवारी नचलेको उनको भनाई छ। 

प्रकाशित: २२ वैशाख २०७५ ०७:४८ शनिबार

बिप्लब बन्दः गाउँका सडक ठप्प सहर बजार खुल्लमखुल्ला