समाज

यार्सा टिप्न विद्यालय बन्द

रुकुम (पूर्व) – वैशाख चौथो साताको पहिलो दिनदेखि रुकुम (पूर्व) का केही विद्यालयहरू बन्द हुने भएका छन्। बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावकहरू लिएर जानेभएपछि यहाँका विद्यालयहरु आइतबार देखि बन्द हुने लागेका हुन्।

यार्साको समयमा यहाँका अधिकांश विद्यालयहरु बन्द हुने गरेका छन्। जेठको दोस्रो साता देखि खुल्ला गरिने यार्सा टिप्न बैशाख दोस्रो साता देखिनै उनीहरु बुकी जाने गर्दछन्। विद्यालय बन्दभएपछि विद्यार्थीहरुको पठन पाठन समस्या हुने भएको छ । ‘विद्यालय बन्द हुने जानकारी आएको छ’ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले भने, ‘उनीहरुले यो बिदा बर्खे बिदा संग मिलाउँछन्।’

विद्यालयहरू जेठको दोस्रो, तेस्रो साता सम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए। यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिक, वृद्धवृछद्धा र बिरामी बाहेक अधिकांश स्थानीयहरु बुकी जाने गर्छन्। ‘शिक्षकहरु नै बुकी जान्छन्’ स्थानीय बिरजित घर्तिले भने, ‘साना बच्चालाई विद्यालय पठाएर के गर्नु ।’ यहाँका विद्यालयले विद्यालय बन्दका बारेमा केही जानकारी नगराएको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कवुरले जानकारी दिए । ‘गत वर्षपनि यार्सा टिप्न जाँदा विद्यालय बन्द थिए’ उनले भने, ‘यस वर्षमा हुन्छन्।’ ‘तर यहाँका विद्यालयहरूले बर्खे बिदासंग यो बिदा मिलाउँदा पढाईमा त्यति समस्या हुने गरेका छैन्’ उनले भने।

‘अन्य बिदा संग नमिलाएर यसरी आफूखुशी विद्यालय बन्द गरेको भए शिक्षाले कारबाही गथ्र्याे’ जिल्ला शिक्षा अधिकारी कुवरले भने, ‘तर उनीहरुले बिदा मिलाउँछन्।’ यसले विद्यार्थीहरुको पढाई असर नगरेको उनले बताए। यहाँका दर्जन बढी माध्यमिक विद्यालयहरू हुने गर्दछन्। यो समयमा यहाँका वासिन्दाहरूले ५० हजारदेखि पाँच लाख भन्दा बढी कमाउने गरेको स्थानीहरु बताउँछन्।

 

प्रकाशित: २२ वैशाख २०७५ ०६:४१ शनिबार

यार्सा टिप्न विद्यालय