समाज

जुम्लामा एकै घरका पाँच जना बेहोस

जुम्लामा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। जुम्लाको सिंजा-६ काडागाँउका तिर्थ बुढाकाे परिवार बेहोस भएको हो।

बुधबार रातिकाे खाना खाइसकेपछि उनीहरू बेहोस भएका थिए। तिर्थकी ३२ वर्षीया श्रीमती नैनकली बुढा, छोरीहरू १२ वर्षकी छोरी प्रतिक्षा बुढा, वर्ष १० की प्रतिमा बुढा, वर्ष ५ की प्रकृति बुढा र दुई वर्षका छाेरा युगान्त बुढा बेहोस भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

श्रीमान् तिर्थले भने, 'म सदरमुकाम खलंगा बजार काम विशेषले गएको थिएँ। बेलुकाकाे खाना दही र गहुँको राेटी खाएपछि एकासी आँखा पाेल्ने, पेट पाेल्ने र आन्द्रा बटारिने लक्षण देखा परे छ। त्यसपछि सबै बेहोस भए।'

तिर्थका अनुसार राति १२ बजे एम्बुलेन्सबाट सिंजादेखि जुम्लाको प्रतिष्ठानमा ल्याइएको थियो। अहिले उपचार भइरहेको र क्रमिक रूपमा सुधार भइरहेको छ।

तिर्थले भने, 'बाेल्न सक्ने र आँखा हेर्न सक्ने भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बेहोस हुनुको कारणबारे थाहा भएको छैन। अनुसन्धान भइरहेको छ।

प्रकाशित: ५ असार २०८२ ०९:४० बिहीबार

#NepaliNews #Nagariknews