समाज

सङ्कलन गरेको गोहीका अण्डाबाट बच्चा कोरलियो

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन्। सङ्कलन गरिएका २३२ अण्डामध्येबाट २०२ वटा बच्चा कोरलिएका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार सङ्कलन गरिएका अण्डामध्ये २० वटालाई प्रयोगशालामा छुट्टै राखिएको थियो। यसबाट १९ बच्चा कोरलिएको छ। अन्य अण्डालाई प्रजनन केन्द्रमा प्राकृतिक रूपमा राखिएको थियो। गत वैशाख १६ गते राप्ती नदी किनारमा रहेका गोहीका गुँडबाट सङ्कलन गरी अण्डा ल्याइएको थियो।

निकुञ्जले १८  गुँड पहिचान गरी तीमध्ये सात  गुँडबाट अण्डा सङ्कलन गरेर केन्द्रमा बच्चा कोरल्नका लागि ल्याएको थियो। सातवटा गुँडमा रहेका २३२ अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याईएको थियो।

सङ्कलन गरेर ल्याइएका अण्डामध्ये २१२ अण्डालाई प्राकृतिक रूपमा कोरलिनका लागि छोडिएको थियो। गत आर्थिक वर्षमा राप्ती नदीमा भेटिएका १६  गुँडमध्ये आठ गुँडका २४७ अण्डा निकालिएको थियो।

प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरु र अन्य जनावारसँगै मानवीय गतिविधिबाट हानिनोक्सानी हुने, नदीमा बाढी आउँदा बगाउने हुँदा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गर्ने गरिन्छ। निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ।

कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीहरूमा छोड्ने गरिएको छ। यहाँ हुर्किएका गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ। पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ। सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। रासस

प्रकाशित: ५ असार २०८२ ०८:३० बिहीबार

#NepaliNews #Nagariknews